चोरी काम गरेपछि भारतको अन्तराष्ट्रिय बेइज्जत
काठमाडौं—चोरी काम गरेपछि भारतको अन्तराष्ट्रिय बेइज्जत भएको छ । चीनमा बनेको व्यावसायिक रोबोटिक कुकुरलाई आफ्नै आविष्कार भनेर प्रदर्शनी गरेपछि भारतको अन्तराष्ट्रिय बेइज्जत भएको हो ।
नयाँ दिल्लीमा आयोजित इन्डिया एआई इम्प्याक्ट समिट २०२६ मा नोएडास्थित गलगोटिया युनिभर्सिटीले आफ्नै आविष्कार भन्दै एआई कुकुुर प्रदर्शन गरेको थियो । चोरीको सामान प्रदर्शन गरेको पाइएपछि उक्त युनिभर्सिटीलाई समिटबाटै निष्कासन गरिएको छ।
युनिभर्सिटीकी सञ्चार विभागकी प्रोफेसर नेहा सिंहले सरकारी टेलिभिजन डीडी न्युजसँगको कुराकानीमा ओरायन (Orion) नामक रोबोटिक कुकुर युनिभर्सिटीको सेन्टर अफ एक्सीलेन्सले विकास गरेको दाबी गरेकी थिइन् ।
तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तुरुन्तै उक्त रोबोट चीनको युनिट्री रोबोटिक्स (Unitree Robotics) कम्पनीले बनाएको युनिट्री गो २ (Unitree Go2) मोडेल भएको पहिचान गरे । यो रोबोट बजारमा करिब १,६०० देखि २,८०० अमेरिकी डलर (करिब २ देखि ३ लाख भारु) मा सजिलै किन्न पाइन्छ ।
यस घटनाले भारतको एआई र एड्भान्स प्रोडक्टको विश्वव्यापी केन्द्र बन्ने लक्ष्यमा धक्का पुर्याएको भन्दै त्यहाँको सरकारले कडा कदम चालेको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले गलगोटिया युनिभर्सिटीको स्टल तुरुन्तै हटाउन आदेश दिएको थियो ।
सूचना प्रविधि सचिव एस कृष्णनले विश्व स्तरको आविष्कार प्रदर्शन गर्ने मञ्चमा यस्तो बौद्धिक चोरी र भ्रामक दाबी स्वीकार्य नहुने बताएका छन् । विवाद बढेपछि युनिभर्सिटीको स्टलको बिजुली काटिएको थियो र कर्मचारीहरूलाई परिसर छाड्न भनिएको थियो ।
आलोचना चुलिएपछि गलगोटिया युनिभर्सिटीले सार्वजनिक रूपमा माफी मागेको छ । युनिभर्सिटीले आफ्नो प्रतिनिधि प्रोफेसर नेहा सिंह कम जानकार भएको र उनले उत्साहमा गलत जानकारी दिएको दाबी गरेको छ ।
युनिभर्सिटीका रजिस्ट्रार नितिनकुमार गौरले यो डेभलप (विकास गर्ने) र डेभलपमेन्ट (अनुसन्धानका लागि प्रयोग गर्ने) भन्ने शब्दहरू बीचको अन्योल मात्र भएको तर्क गरेका छन् । उनले रोबोट विद्यार्थीहरूलाई अनुसन्धानमा प्रेरित गर्न किनिएको बताएका छन् ।
विवाद रोबोटिक कुकुरमा मात्र सीमित रहेन । युनिभर्सिटीले पूर्ण रूपमा स्वदेशमै निर्मित भनेर दाबी गरेको सकर ड्रोन (Soccer Drone) माथि पनि प्रश्न उठेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त ड्रोन दक्षिण कोरियाली कम्पनी हेल्सेल ग्रुप (Helsel Group) को स्ट्राइकर भी३ (Striker V3) मोडेल भएको दाबी गरेका छन् । जसको मूल्य करिब ४० हजार भारु पर्छ ।
यो समिटमा केवल रोबोटको विवाद मात्र होइन, अन्य थुप्रै प्रकारका अव्यवस्था समेत देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
प्रदर्शकहरूले सामान चोरी भएको, स्थिर इन्टरनेट नभएको र अत्यधिक भीआईपी मुभमेन्टका कारण समस्या भोग्नुपरेको गुनासो गरेका छन् । भारतीय विपक्षी नेता राहुल गान्धीले यस घटनालाई अव्यवस्थित पीआर तमासाको संज्ञा दिँदै भारतको प्रतिभा र डेटाको सट्टा चिनियाँ उत्पादन प्रदर्शन हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
द इन्डियन एक्सप्रेसले यो घटना केवल एउटा विश्वविद्यालयको गल्ती मात्र नभई भारतको एआई इकोसिस्टममा देखिएको कमजोरीको सङ्केत भएको टिप्पणी गरेको छ ।
वास्तविक अनुसन्धान र क्षमता निर्माण गर्नुको सट्टा केवल बाहिरी चमकधमक र देखावटीमा लाग्दा यस्ता समस्या उत्पन्न हुने विश्लेषण गरिएको छ । यो समिटमा गुगलका सीईओ सुन्दर पिचाई, ओपन एआईका साम अल्टम्यान जस्ता दिग्गजहरूको उपस्थिति रहेको सन्दर्भमा यस्तो विवादले भारतको विश्वसनीयतामा प्रश्न उठाएको एपी न्युजले उल्लेख गरेको छ ।