बालेनले जुम्लाको मार्सी झापा पुर्याउने
बालेन साहले जुम्लाको मार्सी चामल झापा पुर्याउने घोषणा गरेका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनसम्म पनि पुग्न नसकेको कर्णालीको उत्पादन झापा पुुर्याउने घोषणा गरेका हुन् ।
डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुुगेको स्मरण गर्दै बालेनले अब चितवनसम्म नपुुगेको स्याउ र मार्सी चामल झापासम्म पुर्याउने बताए । काठमाडौंका बालेन झापा ५ बाट चुनाव लड्दैछन् ।
‘देशको सबैभन्दा गहिरो ताल रहेको ठाउँ हो कर्णाली, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं’, उनले भने, ‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्नसक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवनसम्म पनि पुग्दैन, अब झापासम्म पुर्याउन चाहन्छौँ, देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा।’
प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका बालेनले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा नेवा सभ्यता जोगाएर राखेको दावी समेत गरे । ‘त्यहाँको लिपि, बाजागाजा, त्यहाँका मूर्त, अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौं’, उनले थपे ।
बालेनले कर्णालीको गरिबी हटाएर समृद्ध बनाउने सपना देखेको पनि बताएका छन्। उनले भने, ‘अस्ति मैले फेसबुकमा लेखेजस्तै, अब कर्णालीका सुइना, हम्मा सुइना भनेजस्तै तपाईंहरूको सपना बोकेर जान पाउँ, आजबाट सबै तपाईंका सपना हाम्रा हुनेछन् ।’