युवराज सफलले दिए बालेनको पनि नागरिकताबारे उजुरी
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो थर परिवर्तन गरी नागरिकताको प्रतिलिपि लिएको भन्दै सोही विषयमा उजुरी दर्ता भएको छ । शुक्रबार युवराज सफलले बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।
शाहले आफूखुसी थर परिवर्तन गरेको दाबी गर्दै सफलले आफ्नो उजुरीमा नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि माग गरेका छन् । बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ ।
बालेनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उनले उजुरीमा माग गरेका हुन् ।
यसअघि उनै सफलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी उजुरी दर्ता गर्दा रविको सांसदसँगै गृहमन्त्री पद गएको थियो । अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता प्राप्ति गर्नुपर्ने प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतको ठहर थियो ।
२०७९ को निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार हुँदै विजयी भएर उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भएका लामिछानेको नागरिकता विवादले मन्त्रीदेखि पार्टी सभापतीसम्मको पद गुमेको थियो ।