निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव

शनिबार, ९ फाल्गुन २०८२

काठमाडौं—राजावादी पार्टी राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशलाई बेवास्था गरेको छ । पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरामा जारी गरेको भिडियो सन्देशपछि धेरै स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएर निर्वाचन बहिस्कार गरिरहेको अवस्थामा राजावादी पार्टी राप्रपा मतमाग्न हिंडिरहेको छ ।

निर्वाचनबाट निकास ननिक्लिने पूर्वराजाको निश्कर्षलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सानो स्वरमा चुनाव सारौं भनेर प्रस्ताव गरेपनि ठोस निर्णय गर्न सकेका छैनन् ।

हामीले हिजो पनि भनेका हौँ, आजपनि यो भनिरहेका छौँ, ८४ को चुनाव ०८२ मा सारेर समाधान हुँदैन, चुनावअघि राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरौँ नमिलेका विषय मिलाऔँ, निषेधको राजनीति लामो समय गर्‍यौ’ उनले भने–‘अब कसैले कसैलाई निषेध गर्ने र कसैले हार्नेगरी होइन, सबैले जित्ने र देशले पनि जित्नेगरी चुनावमा जाऔँ,यसपछि भविष्यमा कसैले विद्रोह गर्नुपर्दैन भनेका छौँ तर जबरजस्त देश चुनावमा गएको छ, प्रजातान्त्रिक पार्टी भएकाले चुनावमा गएका छौँ ।’

उनले अहिले पनि राष्ट्रिय सहमतिमा सबै दललाई आउन आग्रह गरेको बताउँदै भने–‘चुनाव केही महिना पछि सार्नका लागि प्रस्ताव गरेका छौँ ।’
उनले अहिले मतदाताले विवेक प्रयोग गरेर देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरे।

उनले नयाँ शक्तिका रूपमा चर्चामा आएका शक्तिले देशलाई निकास नदिने दाबी गरे ।

‘देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन । देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस्’ उनले भने ।

यो पटक पुल र बाटो बनाउने चुनाव नभएको उनले स्पष्ट पारेको थिए । मुलुक गम्भीर सङ्कटमा रहेको भन्दै उनले देश बनाउन राप्रपालाई मत दिए अपिल गरे ।

उनले भने–‘भ्रष्टाचाररहित देश बनाउन सके बाहिर रहेका युवालाई धेरै युवालाई ल्याउन सकिन्छ, वर्षौँदेखि दलहरूले भोट बैङ्क बनाएको सुकुम्वासी समस्या समाधान गर्न सकिन्छ, कुनै विदेशी शक्तिको सहयोग लिनुपर्दैन ।’

आज उनले रुपन्देही र नवलपरासीका चुनावी सभालाई सम्बोधन गरेका छन् ।