देश चुनावमय बनेको बेलामा हुम्लामा नुनको अभाव

आइतबार, १० फाल्गुन २०८२

काठमाडौं—देश चुनावमय बनेको बेलामा हुम्लामा नुनको अभाव देखिएको छ । सिमिकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नियमित नुन उपलब्ध गराउन नसक्दा स्थानीय मर्कामा परेका छन् ।

कम्पनीको डिपोले उपलब्ध गराउने ८ प्याकेट नुन किन्नका लागि खार्पुनाथ, चंखेली गाउँपालिका स्थानीय दुई दिनको पैदल यात्रा गर्न बाध्य भएका छन् । कम्पनीले जिल्लाको चार ठाउँमा डिपो राखेपनि स्थानीय नुनका लागि सदरमुकाम सीमिकोट जान बाध्य छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका-१ लाली गाउँकी पुल्तिसरा जैसी सिमकोट विमानस्थल गेटमा लाइनमा उभिरहेकी थिइन् । अनुदानको नुन किन्न उनी खार्पुनाथ गाउँपालिका-१ को देउखुरी गाउँबाट १ दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएकी हुन् ।

दिनभरि पैदल हिँडेर आएकी उनलाई ८ प्याकेट नुन लिएर फिर्ता हुन थप एक दिन नै लाग्छ । नुन किन्न दुई दिन खर्चिनु परे पनि उनले चाहे जति नुन भने खरिद गर्न पाउँदिनन् । किन भने एउटा नागरिकताबाट एक जनाले ८ प्याकेट मात्रै नुन खरिद गर्न पाउँछ ।

नुन किन्न लाइनमा पालो कुरेर बसेकी जैसी भन्छिन्, ‘पहिला चामल किन्न यसरी नै लाइन बस्नुपर्थ्यो, अहिले नुन किन्न लाइनमा बस्नुपर्ने बाध्यता छ ।’

खार्पुनाथ—१ देउखुरीका कृष्णप्रसाद जैसी पनि नुन किन्ने लाइनमा उभिरहेका थिए । उनको गुनासो पनि पुल्तीसाराको जस्तै थियो । ८ पाकेट नुन किन्न दुई दिन खर्चिनु पर्ने उनको गुनासो छ । ‘एक दिन सिमकोट आउन समय लाग्छ । फर्किन पनि त्यति नै समय लाग्छ । जसले गर्दा ८ पाकेट नुन किन्न दुई दिन खर्चिनुपर्छ,’ उनी दुःख पोख्छन् ।

सिमकोट गाउँपालिका- ८ का तुलराज बुढा पनि अनुदानको नुन किन्न ३-४ घण्टा पैदल हिँडेर सिमकोट आएको बताउँछन् ।

एउटा नागरिकताबाट ८ प्याकेट नुन किनेर खानुपर्ने बाध्यता रहेको बुढाको दुखेसो छ ।