केपी ओलीको धम्कीपछि रास्वपामा त्रास

आइतबार, १० फाल्गुन २०८२

काठमाडौं— केपी ओलीको धम्कीपछि रास्वपामा त्रास छाएको छ । दाङमा झण्डा जलाएपछि रक्षात्मक बनेको रविको रास्वपाले ओलीको चेतावनीसहितको धम्कीपछि त्रसित भएर प्रदेशस्तरिय परिवर्तनसभा स्थगित गरेको छ ।

झापामा ओलीको बाक्लो उपस्थितिले रास्वपा र बालेनको टिम दबाबमा पर्दा ओली उत्साहित भएका छन् । व्यापक जनसमर्थन पाएपछि ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताइरहेका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार झापा-५ मा आयोजित पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफू अब चुनाव होस् भन्ने पक्षमा रहेको बताए ।

“हामी अब चुनाव होस् भन्ने पक्षमै छौँ । चुनाव स्थगित हुन पनि सक्छ, अहिले पनि । हुन्छ भनेर धेरै प्रयास भइराख्या छ । हुन्छ भने होस्, जेसुकै होस् । तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्दछौँ । चुनावको विजयको तयारीमा लाग्दछौँ । हामीले जित्नैपर्छ । जित्ने तयारीमा लाग्छौँ । अब हामीले कुनै अलमल गर्नु हुँदैन ।”

ओलीले अगाडि भने –

“६ महिना हामीले कोसिस गर्‍यौँ । हामीले कोसिस गरिन्ज्याल कसैको घैँटोमा घाम लागेन । जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर, हुनुहुँदैन भनेर ‘। देशको खर्च नहुनुपर्थ्यो, अर्बौँ खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनुपर्थ्यो भइ नै सक्यो । ‘ सबै कुरा भइसक्यो, निर्वाचन अब हुनु राम्रो हुन्छ ।”

नहुनुपर्ने चुनाव अब हुनैपर्ने बताएका ओलीले आफूले चुनाव जित्ने निश्चित भएको र पराजित हुनसक्ने डरले राष्ट्रिय स्वतन्त्र पार्टीले यसलाई भाँड्ने प्रयास गरिरहेको आरोप पनि लगाए ।

“साह्रै उम्लिएको । सानो भाँडोमा दूध उमाल्न राखेर तलबाट बेस्सरी चर्को आगो बाल्दिएजस्तै गरेर उम्लिएको, कुनै आधार नभएको एउटा जोडजामवाला पार्टी छ । साह्रै उम्लिएको थियो, जित्दैनौँ भन्ने परेछ क्यार अब अर्काका झन्डा जलाउने, निउँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने, त्यस प्रकारका गतिविधिबाट उसले क्रियाकलाप सुरु गर्‍या छ । त्यो अपराध हो । निर्वाचनका बेला झन त्यसरी झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध हो । निर्वाचन बिथोल्ने प्रयास हो ।”

यो अभिव्यक्तिले ओली अब निसंकोच फागुन २१ गतेको निर्वाचनको पक्षमा उभिएको स्पष्ट हुन्छ । हुन त भदौ २३ र २४ को जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनको घोषणा गरेसँगै नेकपा एमाले अघोषित रूपमा चुनावको तयारीमा लागिसकेको थियो । भलै सार्वजनिक अभिव्यक्तिहरूमा संसद् पुनर्स्थापनाको प्रयास र वकालत गरिरहेको थियो । देशव्यापी अभियान चलाउनेदेखि लिएर केन्द्रमा पार्टीको महाधिवेशन गर्नेसम्मका राजनीतिक गतिविधि एमालेले नै सबैभन्दा पहिले सञ्चालन र सम्पन्न गरेको थियो । यद्यपि, ओलीलगायत एमालेका अधिकांश नेताहरूले संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसको पुनर्स्थापना हुनुपर्ने र चुनाव हुनै नसक्ने बताइरहेका थिए ।

ओली स्वयं आन्दोलनपछि सार्वजनिक भएसँगै भक्तपुरको गुन्डु र बालकोटमा कार्यकर्ता भेला पारेर चुनावको विपक्षमा अभिव्यक्तिहरू दिइरहेका थिए । कात्तिक १ गते पार्टी कार्यालय च्यासलमा त उनले सरकारले चुनाव फागुन २१ गते हुन्छ भनेर झुटको खेति गरिरहेको आरोप लगाएका थिए । पार्टीको सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै ओलीले भनेका थिए, ‘राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे , यो चुनाव हुनेवाला छैन । त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ ।’

सोही कार्यक्रममा ओलीले वर्तमान सरकारलाईजग नै नभएको असंवैधानिक र अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई जेन जी आमैलाई प्रधानमन्त्री बनाएको भनेर व्यङ्ग्य गर्दै यसले जनतालाई झुक्क्याउने काम गरेको बताएका थिए ।

त्यसयता पनि ओलीले निरन्तर चुनाव हुन नसक्ने अभिव्यक्ति पटकपटक दोहोर्‍याइरहे । कहिले झापा पुगेर त कहिले काठमाडौं फर्किएर उनले यो सरकारले चुनाव गराउनै नसक्ने अभिव्यक्ति मात्रै होइन, सरकारले षड्यन्त्र र धाँधली गर्नसक्ने आशंका समेत व्यक्त गरे ।

माघ २१ गते काठमाडौंमा आयोजित दुईवटा कार्यक्रमलाई एकपछि अर्को सम्बोधन गरेका ओलीले सरकारले ब्यालेटबक्समा निर्वाचन सकिएपछि पनि दायाबाँया हुनसक्ने भन्दै त्यस्तो परिणाम आफूलाई स्वीकार्य नहुने समेत भन्न भ्याए ।

“यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन । त्यस्तो परिणाम स्वीकार्य हुँदैन । त्यसले देशमा ठूलो अनिष्ट पैदा गर्नेछ । त्यस्तो भयो भने निर्वाचनको परिणाम स्वीकार्य हुने छैन । म अहिलेदेखि स्पष्ट रूपमा जानकारी गराउँछु । जे पनि सरकारले गर्दा हुन्छ भन्ने सोच्यो भने त्यो देशका लागि अनिष्ट हुनेछ । खुदै सरकारका लागि पनि अनिष्ट हुनेछ ।”

त्यहीबेलामा ओलीले भनेका थिए — “सुन्दैछु, हिमाली भेगमा निर्वाचन हुन नसक्ने भयो, त्यसैले दुई चरणमा निर्वाचन गर्ने । अहिले पनि हामी भन्न चाहन्छौँ, भ्याइँदैन भने मिति सार, एकै दिन निर्वाचन हुनुपर्छ । सोझै निर्वाचन भइसकेपछि मत गणना गरिनुपर्छ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन ।”

उनका यी अभिव्यक्तिका पछाडि जेन जी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले उनलाई दोषी ठहर गर्ने, त्यसले अप्ठेरो सिर्जना हुनसक्ने डर भनेर अनुमान गरिएको थियो । तर, सरकारले तेस्रोपटक जाँचबुझ आयोगको म्याद थप गरेर निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने निश्चित भएको छ । हुन पनि ओली त्यसपछि निर्वाचन र अन्तरिम सरकारको विपक्षमा कमै मात्र बोलिरहेका छन् ।

बरु उनी पछिल्लो समय अभिव्यक्तिमा संयम र निर्वाचनप्रति केही आशावादी देखिन थालेका छन् । आइतबार झापामा “अब निर्धारित मितिमै चुनाव हुनुपर्ने” उनको भनाइले पनि यो संकेत गर्छ । यसअघि काठमाडौंमा नै उनले यसको संकेत गरिसकेका थिए । बिहीबार बानेश्वरस्थित एउटा होटेलमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा पनि उनले आक्रामक अभिव्यक्ति दिएनन् । लिखित भाषण गरेका उनले अदृश्य शक्तिले मुलुकलाई फेरि प्रयोगशाला बनाउन खोजेको भने भन्न भ्याए ।

‘स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ,’ ओलीको भनाइ थियो, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ ।’

त्यसको केही दिनअघि मात्रै झापामा मतदातासँगको भेटघाटका क्रममा पनि ओली चुनावप्रति आशावादी सुनिएका थिए । एमाले अहिले दोस्रो पार्टी भए पनि आगामी निर्वाचनपछि पहिलो पार्टी बन्ने जिकिर गर्दै उनले भनेका थिए, ‘कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुन्छ । कम्तीमा पनि बहुमत ल्याएर वा ठूलो दल बनेर एमालेले देशको नेतृत्व गर्नेछ ।’