१ हजार दिनभित्र सुकुम्वासी समस्या समाधान गर्ने बालेन शाहको बाचा
काठमाडौं—बालेन शाहले १ हजार दिनभित्र सुकुम्वासी समस्या समाधान गर्ने बाचा गरेका छन् । सोमबार झापा केन्द्रित बाचापत्र सार्वजनिक गर्दै बालेनले झापा ५ का भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समाधान नीति अवलम्बन गरी बाचा गरेका छन् । यो क्षेत्रका सुकुम्बासी हरेक निर्वाचनमा निर्णायक बन्दै आएका छन् ।
सोमबार बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ, ‘झापा ५ का भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ ।’
झापा ५ मा मात्रै १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेको अनौपचारिक तथ्यांक छ । झापा जिल्लाभर भने ५० हजार सात सय बढी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
झापा ५ भित्रको दमक नगरपालिकामा मात्रै ६ हजार ३४६, कमल गाउँपालिकामा ८१८, गौरादहमा २ हजार ६६०, गौरीगञ्जमा २ हजार १४६ बढी परिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेका छन् ।
यी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी समस्या रास्वपाको सरकार बनेको एक हजार दिनमा सक्ने प्रतिबद्धता बालेनले गरेका हुन् ।
भूमि बैंकको व्यवस्था गर्ने आश्वासन
भूमि सम्बन्धमा यसबाहेक पनि काम गर्ने उनको बाचा छ । ‘बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्याण्ड बैंक’ (भूमि बैंक) को व्यवस्था गरिनेछ’ बालेनको बाचा छ ।
उनी थप लेख्छन्, ‘ऐलानी जग्गा सम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिनेछ ।’