बालेन शाह आक्रामक बनेपछि केपी ओली ‘म्याच फिक्सिङ’को राजनीतिमा
काठमाडौं—बालेन शाह आक्रामक बनेपछि केपी ओली ‘म्याच फिक्सिङ’को राजनीतिमा लागेका छन् । झापा ५ को परिणाम आफ्नो पक्षमा पार्न ओलीले नेपाली कांग्रेस, प्रचण्डको नेकपा, राप्रपा र विप्लवको माओवादीसँग् छलफल बढाएका छन् ।
पार्टीहरुले व्यवास्ता गर्दा ओलीले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने र राप्रपाबाट वडाध्यक्ष जितेका दमक ७ का वडाध्यक्ष भीमप्रसाद पौडेललाई मेयर बनाउने अफर गरेका छन् ।
ओलीले आफूलाई कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलको अनौपचारिक साथ सहयोग रहने बताएका छन्।
झापा निवासी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा कोसी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर रामकुमार थापा, राप्रपाबाटै निर्वाचित दमक नगरपालिका ७ का अध्यक्ष भीमप्रसाद पौडेल, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत ओलीको पक्षमा लागेको अड्कलबाजी भइरहेको छ।
ओलीले व्यक्तिपिच्छे पदको आश देखाएर आफ्नो जितका लागि मत बटुल्न खोजेको देखिन्छ। अहिले आफूलाई समर्थन गर्दा राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलालाई दुई वर्षपछि अध्यक्ष बनाउन सकिने वचन दिएको नेताहरू बताउँछन्। २०८४ मा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन गर्दा सहयोग गर्ने वाचा दिएर उनले सिटौलालाई फकाइरहेका छन्।
यस्तै, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मत आफूलाई आउनेमा पनि ओली आशावादी देखिन्छन्। देउवासँग नियमित संवादमा रहेका ओलीले उनीनिकट स्थानीय नेताहरूसँग कुराकानी गरिरहेको बुझिएको छ।
कांग्रेसले झापा ५ मा मन्धरा चिमेरियालाई उम्मेदवार उठाए पनि देउवा र सिटौलानिकट कार्यकर्ता र समर्थकहरूको मत ओलीतिर जाने झापाका कांग्रेस नेताहरू नै बताउँछन्। कांग्रेसका स्थानीय नेता सन्तोष तामाङले देश बनाउने र चलाउनेबीचको प्रतिस्पर्धामा पार्टी नहेरी देश बनाउनेलाई साथ दिने भन्दै ओलीलाई मत दिने संकेत गरेका छन्। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि फागुन २१ को निर्वाचनबारे मौन देखिएका सिटौला ओलीलाई आन्तरिक रूपमा सहयोग गर्न सकारात्मक देखिएका छन्।
यस्तै, राप्रपाबाट निर्वाचित दमकका मेयर थापा पनि बालेनलाई पराजित गर्न ओलीलाई साथ दिने पक्षमै देखिन्छन्। झापा ५ मा राप्रपाको उम्मेदवार खडा भएकाले खुलेर लाग्न नैतिक संकट देखिए पनि उनले भित्रभित्र ओलीका लागि मत मागिराखेको लुकेको छैन।