४ सय ५० मतदाता रहेको एउटा सिगो गाउँ एमालेमय
काठमाडौं—४ सय ५० मतदाता रहेको एउटा सिगो गाउँ एमालेमय बनेको छ । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ सय जनालाई टिका लगाएर एमाले प्रवेश गराएपछि सिंगो गाउँ एमालेमय बनेको हो ।
यसअघि एमालेका ५० जना मतदाता रहेको यो गाउँमा ४ सय जनाको एमाले प्रवेशसँगै अरु पार्टी मुक्त गाउँ बनेको छ । एमालेमा प्रवेश गरेपछि स्थानीय अगुवा गयानन्द यादवले ओलीलाई गाउँनै उपहार दिएको बताएका छन् ।
उनले भने, ‘अब यो गाउँनै तपाईँलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईँको जिम्मा भयो ।’
ठुला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्कि हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे, अन्य भित्री सडकहरुको पनि स्तरीकरण, विद्युत सेवाको उपलव्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाई छ । कृषि उपजलाई बजार सम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरि साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताए ।
आगामी प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ का उम्मेद्वार रहेका एमाले अध्यक्ष ओली केहि दिन यता आफ्नै गृहक्षेत्रमा व्यस्त रहेका छन् । ओली २०४८ सालको निर्वाचन देखिनै यहि निर्वाचन क्षेत्रबाट बिजयी हुँदै आएका छन्।
झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाका सवै ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडा र दमक नगरपालिकाका सवै १० वटै वडा पर्दछन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित हुँदा ५२ हजार ३ सय १९ मत प्राप्त गरेका थिए ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेका थिए । यस पटक सो संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ । अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका हुन् ।