देश जलाउनेहरूविरुद्ध कांग्रेस र एमालेसँग गठबन्धन गर्ने प्रचण्डको घोषणा
काठमाडौं—नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले देश जलाउनेहरूविरुद्ध कांग्रेस र एमालेसँग गठबन्धन गर्ने घोषणा गरेका छन् । प्रचण्डले विदेशीको उक्साहटमा देश जलाउनेका विरुद्ध कांग्रेस र एमालेसँग गठबन्धन हुनसक्ने दावि गरेका हुन् । राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, संकटबाट बचाउन एकताको कुरा गरिराखेको बताउँदै बुद्धिजिसविसँगको छलफलमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीबाट देश खतरामा पर्ने संकेत देखिएको जिकिर गरेका छन् ।
उनले भने, ‘संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकको प्रवक्ता हाम्रो पार्टी हो। त्यो हुनुको नाताले हामीले एकातिर सिंहदरबारदेखि सबै जलाउने दलालहरूबाट देश, संविधान, शान्ति प्रक्रिया, बचाउन कांग्रेस र एमालेसँग पनि हामीले कुरा गर्नुपर्नेछ। ती हिजोका हाम्रा सहयात्री हुन्। तिनसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध जाने हदसम्म संवाद पनि गर्नुपर्ने छ।’
राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, संकटबाट बचाउन एकताको कुरा गरिराखेको बताए।
उनले थपे, ‘जनताले पनि राष्ट्रलाई एकताबद्ध राख्न सक्ने, सरकारलाई व्यवस्थित रूपले सञ्चालन गर्न सक्ने अनुभव भएका, स्वच्छ छवि भएका नेताहरूको पार्टी नेपाल कम्युनिस्ट पार्टी नै हो भन्ने बुझ्दै गएका छन्। यति धेरै पार्टीको एकैचोटि एकता भएको त नेपालको इतिहासमै पहिलो चोटि हो। २५–२६ वटा सानाठुला समूह एक हुने र त्यो पनि फेरि सबै सक्रिय छन्।’