झापा ५ मा केपी ओलीको जित निश्चत छ : सुनिल शर्मा
काठमाडौं—डाक्टर सुनिल शर्माले झापा ५ मा केपी ओलीको जित निश्चत रहेको दावि गरेका छन् । मोरङ क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको उम्मेदवार रहेका शर्माले छिमेकी निर्वाचन क्षेत्र झापा ५ बाट ओलीले जित्ने सम्भावना ९९ प्रतिशत रहेको दावि गरेका हुन् । विभिन्न मिडियासँगको कुराकानीमा उनले वर्षौँदेखिको सम्बन्ध, नाता र विकासका कामलाई हेरेर झापाका निकै सचेत मतदाताले विवेक पुर्याएर ओलीलाई मतदान गर्ने दावि गरेका छन् ।
हामीले यहाँ व्यक्तिगत तहमा धेरै काम गरेका छौँ। विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा हामीले पुर्याएको योगदान अतुलनीय छ,’ उनले भने, ‘म जुनसुकै टोलमा जाँदा पनि कि त मैले जीवनदान दिएर मृत्युको मुखबाट बचाएको बिरामी भेटिन्छन्, कि हामीले निःशुल्क पढाएका बच्चाहरू भेटिन्छन्।’
उनले पूर्वाञ्चल विश्वविद्यालयमा २५ वर्षदेखि रोकिएको एमबीबीएस कक्षा आफ्नो पहलमा सुरु हुन लागेको बताए। त्यस्तै सुकुम्बासी समस्या समाधानका लागि नापी गराई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाउनु आफ्नो मुख्य उपलब्धि भएको उनको भनाइ छ।
आफ्नो जितबारे उनी ढुक्क छन्।
‘जित्ने कुरामा त यहाँ कुनै शङ्का नै छैन, तर मेरो कोसिस यसपालि पहिलेको भन्दा अझ बढी मतान्तरले जित्ने हो। मतान्तर धेरै हुँदा संसद्मा बोल्दा देशैभरि त्यसको छुट्टै भ्यालु हुन्छ,’ शर्माले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ र आन्दोलनका सन्दर्भमा शर्माले लोकतान्त्रिक मान्यताको कुरा गरे।
उनले भने, ‘लोकतन्त्रमा विपक्षी दलको नेता, चाहे ऊ जोसुकै होस्, अनुसन्धानका नाममा चुनावको बेला जेलमा राखिनु हुँदैन। जसरी भारतमा केजरीवाललाई चुनावसम्म मुभमेन्ट गर्न दिइयो, त्यसरी नै रविजीलाई पनि जनतामा जान दिनुपर्छ भन्ने मेरो अडान हिजो पनि थियो, आज पनि छ।’
तर, आफ्नो निर्वाचन क्षेत्रमा रास्वपा तेस्रो वा चौथो स्थानमा मात्र रहेको र उनीहरूसँग प्रतिस्पर्धामै नरहेको उनको दाबी छ।
यो निर्वाचनको केन्द्रबिन्दु रहेको छिमेकी क्षेत्र झापा ५ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे टिप्पणी गर्दै शर्माले भने, ‘झापा ५ मा केपी ओलीले जित्ने सम्भावना ९९ प्रतिशत छ। वर्षौँदेखिको सम्बन्ध, नाता र विकासका कामलाई एउटा मान्छेले बाटोमा बसेर टिङटिङ बजाएको भरमा जनताले भुल्दैनन्। झापा ५ का मान्छेहरू निकै सचेत छन्, त्यहाँ पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेकै बीचमा हुन्छ।’