रास्वपा नेता मनिष झाले १ करोड ५० लाखमा टिकट विक्रि गरेको प्रमाण बाहिरियो
काठमाडौं—रास्वपा नेता मनिष झाले १ करोड ५० लाखमा टिकट विक्रि गरेको प्रमाण बाहिरिएको छ । रास्वपाको टिकट बाँडफाँडमा आर्थिक चलखेल भएको आरोप लागिरहेका बेलामा धनुषा २ मा प्रत्यक्षतर्फका आकांक्षी दिनेश साहुले प्रमोद न्यौपानेसँग टेलिफोन संवादसहित अडियो सार्वजनिक गरेका हुन् । उक्त अडियोमा कार्यकर्ता र मतदाताले नचिनेको तथा अपराधिक पृष्ठभूमिका रामविनोद यादवलाई डेढ करोडमा टिकट विक्रि गरेको भन्दै रिपोर्टिङ गरेको सुनिन्छ ।
नेकपा (एमाले)का पूर्व नेता न्यौपाने रास्वपाका वरिष्ठ नेता रवि लामिछाने गृहमन्त्री हुँदा उनको प्रेस संयोजक थिए । रास्वपाको सम्पूर्ण प्रचार मामिला उनैले हेर्छन् भने देशव्यापी चुनावी क्याम्पेनमा पनि रविसङ्गै हिंडिरहेका छन् ।
यता,साहु धनुषा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ आकांक्षी थिए । तर,रास्वपाले उनलाई पाखा लगाएर भर्खँरै जेलमुक्त भएका व्यक्तिलाई टिकट थमाइदियो । त्यहाँ रास्वपाबाट रामविनोद यादव उठेका छन् । पहिलेका एमाले उनी जनमत हुँदै रास्वपामा छिरेका हुन् ।
सदस्यता लिएकै दिन उनलाई टिकट दिइएको थियो । कार्यकर्ता र मतदाताले चिन्दै नचिनेको र अपराधिक पृष्ठभूमि भएको व्यक्तिलाई टिकट दिएको भन्दै धेरैले असन्तुष्टि जनाइरहेको पृष्ठभूमिमा उनले डेढ करोड रुपैयाँ खुवाएर टिकट किनेको साहुले रिपोर्टिङ गरेका छन् । साहुका अनुसार धनुषामा टिकट बिक्री गर्ने मनिष झा हुन् । जो धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा नक्खू कारागार तोडफोड गरेर रविलाई भगाउन उनी गएको भिडियो छरपस्ट छ । पैसा खाएर मनिषले सुटुक्क टिकट बेचेको साहुले खुलाएका छन् । उनका अनुसार सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार अमरेशकुमार सिंह,सिराहा क्षेत्र नम्बर ४ का तपेश्वर यादव र समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवसमेत टिकट खरिदकर्तामा पर्दछन् ।
साहुः मैले श्रीमतीलाई फोन गरेर,मनिष झालाई दुई–तीन करोड कति चाहियो,गाडीबाट चेक निकालेर दिनुस् भनेको छु । यतिसम्म भन्दा पनि नपुगेर टिकट बेचेपछि अरु के भन्ने ?
उनले भनेका छन्,‘जब मेन कमाण्डर मान्छे मलाई के भन्छ, दाइ तपाईँको टिकट पैसाको चलखेलमा तपेश्वर यादव, पुरुषोत्तम यादव, अमरेशकुमार सिंह दबाब दिएर टिकट यस्तो भयो ।’ पैसा लिएर टिकट बाँडेपछि मनिषले आफूलाई स्वतन्त्र उम्मेदवारी दिन सुझाएको साहुको जिकिर छ । बालेनको आफन्त भएकैले किशोरी साहलाई धनुषा क्षेत्र नम्बर १ मा टिकट दिएको उनको भनाइ छ ।
यता, न्यौपानेले टिकट बाँडफाँडमा आर्थिक चलखेल भएको स्वीकारेका छन् । सो जानकारी आफूले पनि पाएको उनको भनाइ छ । यसपटकलाई जे भएपनि रास्वपाका उम्मेदवारलाई जिताउन लाग्नु भनि उनले साहुलाई फकाइरहेको अडियोमा सुनिन्छ । ‘तपाईँलाई २ मा सहयोग गर्न नैतिक रुपमा अप्ठेरो पर्यो भन्ने लाग्छ भने १, ३, ४ मा कुनमा गएर तपाईँले चुनाव जिताउन सक्नुहुन्छ, त्यहीँ क्षेत्रमा जानुस् । बाँकी हिसाबकिताब फेरि गरौंला’,उनले भनेका छन् ।
न्यौपाने ः धनुषामा मात्र होइन । उता पनि त्यस्तै भयो भनेर सप्तरीका साथीहरुले असन्तुष्टि जनाइरहनुभएको छ । पर्सामा पनि खेल भयो भन्दैछन् । बारामा गडबड भयो भन्ने छ । अहिले सबभन्दा बढी कम्प्लेन आएकै मधेशको हो ।
कुराकानीका क्रममा उनीहरुले बारा,सप्तरी, धनुषालगायत मधेशका अन्य जिल्लामा पनि टिकट खरिदबिक्री भएको विषय खुलाएका छन् । उक्त अडियो सार्वजनिक भएसँगै रास्वपामाथि नैतिक प्रश्न उठेको छ । ‘जान्नेलाई छान्ने’ भनिएतापनि रास्वपाको वास्तविकता पैसा हुनेलाई छान्ने भएको अडियोबाट प्रमाणित भएको छ । रास्वपामाथि लागिरहेको विभिन्न आर्थिक अनियमितताको आरोप पनि अडियोले पुष्टि गरेको छ ।
यस्तो छ दुईबीच भएको १० मीनेट लामो कुराकानीको उतार :
साहुः मनिष टिकट लिएर भाग्यो,होटलबाट टिकट दिएर पठायो । मलाई चार वटा पार्टीले फोन गरेको छ,त्यो दिन । राष्ट्रिय स्वतन्त्र पार्टीले डाँकालाई टिकट दिने ?
न्यौपानेः हो,मैले बुझेको छु । मलाई पार्टीको साथीहरुले संस्थागत रुपमै असन्तुष्टि जनाउनुभएको छ । जिल्ला सभापतिहरुले पनि भन्नुभएको छ । कम्प्लेन मभन्दा माथि पनि पुगिसकेको छ । जे–जे कम्प्लेन आए पनि यो पालिलाई त सिद्धियो ।