रवि लामिछानेले पुनः गगन थापासँग सहकारी ठगी सम्बन्धी प्रमाण मागे

शुक्रबार, १५ फाल्गुन २०८२

काठमाडौं—रवि लामिछानेले पुनः गगन थापासँग सहकारी ठगी सम्बन्धी प्रमाण मागेका छन् । गगन थापाले आफूसँग प्रमाण छ भनेर संसदमा बोलेको ६५८ दिन पुग्दा पनि सहकारी वचत रकम अपचलन प्रकरणको प्रमाण नदेखाएको भन्दै रविले पुनः आफू विरुद्धको प्रमाण मागेका हुन् । रविविरुद्ध सहकारी ठगी सम्बन्धीका प्रसस्त प्रमाणहरु सहकारी,मनी नामक वेवसाइटमा व्यवस्थित रुपमा राखिएका छन् ।

देशलाई चुनावले छपक्कै छोपिसकेको छ । नेताहरु आमसभा देखि घरदैलोमा व्यस्त छन् । दलहरुले ठाउँठाउँमा चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आमसभा गर्‍यो । सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सहकारी ठगीको प्रसंग उठाए ।

‘ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ । चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनु होला,’ उनले भने । संयोग यस्तो भयो कि लामिछानेले थापासँग प्रमाणको खोजी गर्दै गर्दा उनी पक्राउ परेको पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले थापालाई बचत फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।