रास्वपा सभापति रवि लामिछानेका कारण उम्मेदवारहरु हैरान
काठमाडौं—रास्वपा सभापति रवि लामिछानेका कारण उम्मेदवारहरुले हैरानी बेहोर्नु परेको छ । अदालतमा मुद्दा चलिरहेकै अवस्थामा उम्मेदवारी दिएका रविको कारणले अन्य उम्मेदवारलाई हैरानी भएको हो । लामिछानेमाथि लागेको ‘सहकारी ठग’ को ट्यागका कारण मतदातालाई प्रष्टीकरण दिँदादिँदै उम्मेदवारहरु वाक्क भएको गुनासो सुनिन थालेको छ । चितवन क्षेत्र नम्बर २ बाट उठेका रविमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
रास्वपाबाट ललितपुर क्षेत्र नम्बर १ मा बुद्धरत्न महर्जन उम्मेदवार छन् । क्षेत्र नम्बर २ का उनलाई जबरजस्ती १ मा टिकट थमाइएको हो । २ मा पूर्वसञ्चारमन्त्री जगदिश खरेललाई रास्वपाले उठाएको छ । आफूलाई क्षेत्र नम्बर २ बाट लखेटेकोमा महर्जन असन्तुष्ट छन् । क्षेत्र नम्बर २ मा आफ्नो जित पक्का हुँदाहुँदै पनि खरेललाई टिकट दिइएकोमा उनले चित्त दुखाएका छन् ।
उनले निकटस्थहरुलाई आफ्नो टिकट जबरजस्ती खोसिएको भन्दै दुःखेसो पोख्दै आएका छन् । एकातिर जित्ने ठाउँमा टिकट खोसिएर दुःखी उनी सभापतिमाथि लागेको ‘सहकारी ठग’ को ट्यागले झनै पीडित बन्न पुगेका छन् । मतदाताहरुले ‘ठगको पार्टीको उम्मेदवार’ भनेर हैरान बनाएपछि उनले निकटस्थहरुलाई सभापतिले अप्ठेरोमा पारेको भनी गुनासो पोख्ने गरेको बुझिएको छ ।
महर्जनले सभापति लामिछानेलाई मतदाताहरुको भनाइ सुनाएका थिए । लामिछानेले ‘त्यो आरोप मात्रै हो’ भनी मतदातालाई फकाउन सुझाव दिएको स्रोतको जिकिर छ । स्रोत भन्छ,‘मतदाताहरुले ठगको पार्टी भनेर हैरान पारेछन् । त्यसपछि सभापतिसमक्ष उनले सो गुनासो राखेका थिए । सभापतिले आफ्ना क्षेत्रका समस्या उठाउनुस्, मतदातालाई हेल्थपोस्ट, डाक्टर राखिदिन्छौंलगायतका आश्वासन दिनुस् भनेर सिकाएछन् ।’