प्रचण्डको पार्टीका उम्मेदवार बमसहित पक्राउ
काठमाडौं—प्रचण्डको पार्टीका उम्मेदवार बमसहित पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका हुन् ।
बा १० च १२५० नम्बरको गाडीमा सवार चौधरीको गाडीमा ‘होक्सी बम’ फेला परेको थियो । उनहित थप तीन जनालाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।
चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आलम अन्सारी, धनुषाका ३० वर्षीय सुरज कार्की र पर्साका ६८ वर्षीय सत्यनारायण थारु पनि पक्राउ परेका छन् ।
पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरीमाथि निर्वाचन ऐन २०७३ र मुलुकी फौजदारी संहिताअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । साथै, उनी सवार गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।