एमाले नेतृ रामकुमारी झाँक्रीलाई सुनपानीले मुख कुल्ला गर्न महावीर पुनको सुझाव
काठमाडौं—महावीर पुनले एमाले नेतृ रामकुमारी झाँक्रीलाई सुनपानीले मुख कुल्ला गर्न सुझाव दिएका छन् । झाँक्रीले निर्वाचनमा पार्टीले कमजोर मतपरिणाम निकालेपछि त्यसको जिम्मेवार आफूहरु नै रहेको स्वीकार गरेकी थिइन् ।
‘पार्टीलाई कमजोर बनाउन त हामीले पनि भूमिका खेल्यौँ,त्यो भूमिका खेलेवापतको सजाय स्वीकार गर्नैपर्यो’, हालै एक पोडकास्टमा उनले भनेकी थिइन्, ‘त्यो चाहे प्रत्यक्ष होला,परोक्ष होला,कर्नरिङ होला, हामीले बिगार्यौँ, त्यसलाई अब सुधार्न त सकिन्न, तर सुध्रिन सक्छौँ।’
रास्वपाको समर्थनमा चुनाव जितेका पुनले झाँक्रीको सोही भिडियो शेयर गर्दै अब छुचो बोल्ने बानी सुधारेर पार्टी निर्माणमा लाग्न भनेका हुन् । उनले घुमाउरो भाषामा एमालेकै अर्का दुई नेता महेश बस्नेत र सूर्य थापालाई पनि सुध्रिन सुझाव दिएका छन् । ‘पार्टीलाई अलिकति मात्र कमजोर होइन कि ध्वस्त नै बनायौ,चार नम्बरमा तिमी, तीन नम्बरमा सूर्य र दुई नम्बरमा महेश,एक नम्बरमा तिम्रा बा’, उनले भनेका छन्, ‘पहिला सुनपानीले मुख कुल्ला गर, अनि बिस्तारै छुचो बोल्ने बानी सुधार, आशिर्वाद र तथास्तु ।’
निर्वाचनअघि झाँक्रीले पनि पुनलाई ‘बेवकुफमन्त्री’ भन्दै उडाएकी थिइन् । दुई जनाबीच पछिल्लो समय सामाजिक सञ्जालमा कटाक्ष चलिरहेको देखिन्छ।