पूर्व गृहमन्त्री रमेश लेखक नेपालमै रहेको खुलासा
काठमाडौं—पूर्व गृहमन्त्री रमेश लेखक नेपालमै रहेको खुलासा भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि पक्राउ पर्ने डरले लेखक भागेर सिंगापुर पुगेको हल्ला चलेको थियो ।
चुनाव प्रचारका क्रममा गृहजिल्ला कन्चनपुरमा पुगेका उनी फागुन २२ गते काठमाण्डौ फर्किएका थिए । त्यसयता उनी कतै गएका छैनन् ।
गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशबारे छानबिन गरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आईतबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही सिफारिस गरिएको चर्चा भइरहेको छ ।
यद्यपि, अध्ययन गर्ने भन्दै प्रतिवेदन ‘होल्ड’ गरिएको छ । यता, प्रतिवेदन सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा अनेकौं अफवाह फैलाउन थालिएको छ।
आयोगले प्रतिवेदनमा कारबाही सिफारिस गरेपछि तत्कालिन गृहमन्त्री रमेश लेखक विदेश भागेको भन्दै सञ्जालमा समाचार वा स्टाटसहरु पोष्ट गरिएको पाइन्छ ।
उपचारको बहानामा उनी सिंगापुर गएको समाचार सञ्जालमा भेटिन्छन् । तर, सोधपुछ गर्दा लेखक नेपालमै रहेको पाइएको हो । उनले भने, ‘म काठमाडौंमै छु ।’ चुनाव प्रचारक्रममा गृहजिल्ला कन्चनपुरमा रहेका उनी २२ गते काठमाण्डौ फर्किएका थिए । उनले देश छाडेको अध्यागमनको समेत रेकर्डमा छैन ।