युद्ध चाँडै सकिने ट्रम्पको घोषणा, अन्तिमसम्म लड्ने इरानको जबाफ
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने बताएका छन्। ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनपछि चाँडै युद्ध रोकिने घोषणा गरेका हुन्।
ट्रम्पको घोषणा पछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले (आइआरजिसी) ले युद्धको अन्त्य कहिले हुने भन्ने कुरा आफूहरूले तय गर्ने जवाफ फर्काएको छ । अमेरिका र इसराइलको आक्रमण जारी रहेमा इरानले यस क्षेत्रबाट एक लिटर तेल पनि निर्यात हुन नदिने आइआरजिसीले चेतावनी दिएको भनेर इरानी सरकारी सञ्चारमाध्यमको हवाला दिँदै अमेरिकी मिडियाले लेखेका छन्।
त्यसको प्रतिउत्तरमा आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानले त्यसो गरेमा अहिलेको भन्दा २० गुणा कडा आक्रमण गर्ने धम्की दिएका छन्। तर ट्रम्पको घोषणा युद्धका कारण नराम्ररी प्रभावित भएका अमेरिका र विश्वभरका सेयर बजारलाई शान्त पार्न गरिएको आरोप लागेको छ ।