२ तिहाई ल्याएको रास्वपाका यी १४ उम्मेदवारको धरौटी पनि जोगिएन

मंगलबार, २६ फाल्गुन २०८२

काठमाडौँ – हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहप्रद नतिजा ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कतिपय उम्मेदवार भने जमानत जोगाउनसमेत असफल भएका छन्। चुनावी परिणाम आउने क्रम अन्तिम चरणमा पुगिरहँदा रास्वपा दुईतिहाइ नजिक पुगेको छ।

तर पराजित भएको ३३ क्षेत्रमध्ये १४ ठाउँमा भने रास्वपा उम्मेदवारहरूको जमानतसमेत जोगिएको छैन। प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।

निर्वाचनसम्बन्धी ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ।

कोशी प्रदेशअन्तर्गत दुई निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले जमानत गुमाएका छन्। पाँचथरमा रास्वपा उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङले खसेको कुल सदर मतको १० प्रतिशत मत नल्याएपछि जमानत जतफत भयो।

पाँचथरमा खसेको कुल सदर मत ६६ हजार ९२१ को १० प्रतिशत अर्थात ६ हजार ६९२ भन्दा बढी मत ल्याउनुपर्नेमा रास्वपाका थाम्सुहाङले ४ हजार १९७ मत मात्र ल्याएपछि जमानत जफत भएको हो।

सोलुुखुम्बमा पनि रास्वपा उम्मेदवार ऋषिधन थुलुङको जमानत जोगिएन। उनले कुल सदर मत ३८ हजार ५६६ को १० प्रतिशत ४ हजार ८५६ भन्दा बढी मत ल्याउनुपर्नेमा ३ हजार ६४२ मात्र ल्याए।

यस्तै, खोटाङ पनि रास्वपाका उम्मेदवार रुद्र गिरीले जमानत जोगाउन नसकेको क्षेत्र हो। उनले कुल सदर मत ५८ हजार ६३८ को १० प्रतिशत अर्थात् ५ हजार ८६३ भन्दा बढी ल्याउनुपर्नेमा ५ हजार ७०४ मात्रै ल्याएपछि उनको जमानत खोसिएको हो।

ताप्लेजुङमा रास्वपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाए, जुन जमानत जोगाउन पर्याप्त मत होइन। ताप्लेजुङमा खसेको कुल सदर मत ४२ हजार ८९७ मतको १० प्रतिशत ४ हजार २८९ भन्दा बढी मत ल्याउनुपर्नेमा नआएपछि श्रेष्ठको जमानत जफत भएको हो।गण्डकी प्रदेशअन्तर्गतको म्याग्दी रास्वपाले जमानत गुमाएको जिल्ला हो। स्वतन्त्र सांसद डा। महावीर पुनले जितेको उक्त क्षेत्रमा रास्वपाले युवराज रोकालाई उम्मेदवार बनाएको थियो।

म्याग्दीमा कुल ४३ हजार १६० सदर मत खसेको थियो। यसको १० प्रतिशत ४ हजार ३१६ भन्दा बढी ल्याउनुपर्नेमा रास्वपाका रोकाले एक हजार ५३० मत मात्र पाएपछि जमानत नजोगिएको हो। तर यहाँ अन्तिम समयमा रास्वपा उम्मेदवारले स्वतन्त्र उम्मेदवार डा।महावीर पुनलाई समर्थन गरेका थिए।
लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वमा पनि रास्वपा उम्मेदवार लखनकुमार थापाले जमानत जोगाउन सकेनन्। कुल सदर मत १८ हजार २४६ का आधारमा उनले एक हजार ८२४ भन्दा बढी ल्याउनुपर्थ्यो। तर उनी ८१९ मतमै सीमित भएपछि जमानत गुमाएका हुन्।

रास्वपाका धेरै उम्मेदवारले जमानत जोगाउन नसकेको प्रदेश कर्णाली हो। उक्त प्रदेशका विभिन्न क्षेत्रमा रास्वपा उम्मेदवार जमानत जोगाउन असफल भएका छन्।मुगुमा रास्वपा उम्मेदवार भुवन टमाटाले ५३० मत मात्र पाए। जमानत जोगाउन उनले कुल सदर मत २१ हजार २२५ को १० प्रतिशत २ हजार १२२ भन्दा बढी माथि मत ल्याउनुपर्थ्यो।

हुम्लामा पनि रास्वपाकी टासी ल्हान्जोमले प्राप्त गरेको एक हजार ६४ मत मानत जोगाउन पर्याप्त भएन। उनले कुल सदर मत २१ ह्जार ९३५ को १० प्रतिशत अर्थात् २ हजार १९३ भन्दा बढी मत ल्याउनुपर्ने थियो।

जजारकोटमा पनि रास्वपा उम्मेदवार राघब कार्कीले दुई हजा ४७१ मत मात्र पाए। उनलाई कुल सदर मत ५७ हजार ६६८ का आधारमा जामात जोगाउन ५ हजार ७६६ भन्दा बढी मत आवश्यक थियो।डोल्पामा खसेको कुल सदर मत १५ हजार ५०६ हो। जसअनुसार जमानत जोगाउन कम्तिमा एक हजार ५५० भन्दा बढी आवश्यक थियो। तर यहाँका रास्वपा उम्मेदवार देवसिंह ऐडीले पाएको १८१ मत कुल सदर मतका आधारमा जमानत जोगाउन अपर्याप्त रह्यो।

रास्वपाले जमानत गुमाएको अर्को क्षेत्र जुम्ला हो। यहाँ पूर्व समानुपातिक सांसदसमेत रहेकी विनिता कठायत उम्मेदवार थिइन्। तर उनले जमानतसमेत नजोगिने निक्कै दयनीय मत पाइन्।यस्तै, जुम्लामा खसेको कुल सदर मत ३९ हजार १७३ को १० प्रतिशत मत ३ हजार ९१७ भन्दा बढी हुन्छ, जबकि रास्वपाकी कठायत ४२१ मतमा सीमित भइन्।

कालिकोटका रास्वपा उम्मेदवार प्रकाश न्यौपानको पनि जमानत जफत भयो। उनले कुल सदर मत ३९ हजार ३७७ को १० प्रतिशत अर्थात ३ हजार ९३७ मत पाउन नसक्दा जमानत गुमाएका हुन्। उनले ३ हजार १०१ मत मात्रै ल्याए।

रुकुम पश्चिममा पनि रास्वपाका उम्मेदवार मानबहादुर शाही ४ हजार ७६ मतमा सीमित भएका जमानत जोगिएन। उनले कुल सदर मत ५९ हजार ५२३ को १० प्रतिशत अर्थात् ५ हजार ९५२ भन्दा बढी मत ल्याउनुपर्ने थियो।सुदूरपश्चिम प्रदेशअन्तर्गतको क्षेत्र अछाम १ मा कुल मत ३० हजार ३४८ का आधारमा जमानत जोगाउन ३ हजार ३४ भन्दा बढी मत ल्याउनुपर्थ्यो। तर रास्वपाका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत मात्रै पाए, जसकारण त्यहाँ पनि जमनत जफत भएको छ।