दुई तिहाइको रास्वपा सरकारलाई ठेगान लगाउन आफू एक्लै प्रयाप्त भएको हर्क साम्पाङको घोषणा

मंगलबार, २६ फाल्गुन २०८२

काठमाडौं—हर्क साम्पाङले दुई तिहाइको रास्वपा सरकारलाई ठेगान लगाउन आफू एक्लै प्रयाप्त भएको घोषणा गरेका छन् । आगामी संसदमा बलियो प्रतिपक्षी नहुने बहस भइरहेका बेलामा सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका साम्पाङले सरकारलाई खबरदारी गर्न आफू एक्लो पर्याप्त भएको बताएका हुन् । मतदाताहरुलाई धन्यवाद दिदै उनले सदनमा आफू र आफ्नो पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन् ।

मतदाताहरुलाई धन्यवाद दिदै उनले सदनमा आफू र आफ्नो पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन् । ‘जनताले घण्टीलाई रुचाएपछि मैले पनि स्वीकार गर्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘अब प्रतिपक्ष नै नहुनेजस्तो देखियो भन्ने चर्चा चलेको सुनेँ, उनीहरुलाई खबरदारी गर्न म एक्लै काफी छु, अरु कोही चाहिन्छ र ?’

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई ‘विदेशी दलाल’ भन्दै आएका साम्पाङले मिल्नै परे राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्र निर्वाचित उम्मेदवार ज्ञानबहादुर शाहीसँग मिलेर आवाज उठाउन सकिने पनि बताएका छन् । अर्को स्टाटसमा भनेका छन्, ‘माननीय ज्ञानबहादुर शाहीज्यू सँग चाहिँ कुरा मिल्छजस्तो लाग्छ, मेरो प्रारम्भिक अनुमान मात्रै है ।’

प्रत्यक्षतर्फ तीन सिट जितेको साम्पाङको पार्टीले समानुपातिकतर्फ पनि राम्रो मत ल्याएको छ । दल दर्ता भएको छोटो समयमै उक्त पार्टीले तीन लाख ५८ हजार ४ सय ८६ मत ल्याएको हो । मतगणना जारी रहँदा मत बढ्नसक्ने देखिन्छ ।