दुईतिहाइका लागि रास्वपालाई २ सिट कम हुने सम्भावना

बुधबार, २७ फाल्गुन २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्ट लाई दुईतिहाइ बहुमतको लागि २ सिट नपुग हुने देखिएको छ । समानुपातिक तर्फको मतगणना अन्तिमतिर पुग्दै गर्दा रास्वपाले समानुपातिकबाट ५७ सिट प्राप्त गर्नसक्ने देखिएको हो ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेमा कुल १८२ सिट पुग्ने देखिन्छ । कुल २७५ सदस्य रहेको प्रतिनिधिसभामा बहुमतको लागि १३८ सिट र दुईतिहाइ बहुमतको लागि १८४ सिट आवश्यक पर्ने देखिन्छ । रास्वपाले १८२ सिट मात्रै पुर्याउने देखिएको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको मतगणना परिणाम र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको मतले देखाउँछ ।

रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सिट पाउने देखिँदा नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । अहिलेको परिणामले प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउँदा कुल ३८ सिटसम्म पुग्ने देखिन्छ ।

यस्तै नेकपा एमालेले समानुपातिकमा १६ सिट पाउने देखिएको छ । प्रत्यक्षमा ९ सिट जितेको एमालेले समानुपातिक सहित कुल २५ सिट पुग्ने देखिएको छ ।यस्तै प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ ९ सिट सहित १७ सिट पुग्ने देखिएको छ । यस्तै प्रत्यक्षमा ३ सिट जितेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाउँदा ४ सिट पाउने देखिएको छ । यस आधारमा श्रम संस्कृति पार्टीले ७ सिटसहित संसदमा प्रतिनिधित्व गर्ने भएको छ ।

यस्तै प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउँदा ४ सिट पाउने देखिन्छ । यस आधारमा राप्रपा ५ सिट सहित संसदमा प्रतिनिधित्व गर्नेछ ।