चुनावको घाउ सेलाउन नपाउँदै महेश बस्नेतमाथि अर्को बज्रपात

बुधबार, २७ फाल्गुन २०८२

काठमाडौं—चुनावको घाउ सेलाउन नपाउँदै महेश बस्नेतमाथि अर्को बज्रपात परेको छ । एमाले सचिवसमेत रहेका बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलासम्बन्धी मुद्धा दर्ता भएको छ ।

बस्नेतले माघ ११ गते प्रधानन्यायाधीशसहित न्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब भएको, न्यायीक प्रक्रिया आतंकित भएर डराएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता लवन न्यौपानेले रिट दर्ता गरेका हुन् ।

सो रिटको सुनुवाइ आउँदो आइतबार (चैत १) का लागि तोकिएको छ ।

गत माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दायर रिट निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा बस्नेतमाथि अदालतको अवहेलनामा कारबाही चलाई हदैसम्मको सजाय माग गरिएको छ ।