इनिशा विकका बुवाको छोरीको शव नबुझ्ने घोषणा

बिहिबार, २८ फाल्गुन २०८२

काठमाडौं—छोरीको हत्यापछि विछिप्त बनेका इनिशा विकका बुवाले छोरीको शव नबुझ्ने घोषणा गरेका छन् । दुबईबाट फर्किएर सुर्खेत पुगेका इन्द्र विकले आफ्नी छोरीले न्याय नपाएसम्म शव नबुझ्ने घोषणा गरेका हुन् ।

केही व्यक्तिको दवावका कारण प्रहरीले केही हत्यारालाई समात्न नसकेको आरोप लगाउँदै इनिशाको परिवारले इनिशा पढ्ने स्कुलमाथि शंका गरेको छ । केटा पक्षका परिवारलाई दुई–दुई चोटी बोलाएर छलफल गर्नुलाई उनीहरुले शंकाको रुपमा हेरेका छन् । इनिशाका बुबा रोजगारीका लागि दुबई गएका थिए ।

इनिशाको आफन्तहरूले केही आरोपीहरू समातिए पनि केहीलाई समात्न छुटेको बताएका छन् । छुटेका आरोपीहरूलाई अनुसन्धानको लागि प्रहरीले ल्याउनुपर्ने परिवारको माग रहेको छ ।

“इनिशा र आरोपितबीच केही समयअघिदेखि प्रेम सम्बन्ध रहेको स्कुललाई जानकारी रहेछ । स्कुलले केटा पक्षका परिवारलाई दुईपटक बोलाएर छलफल गर्‍यो । हामीलाई कुनै पनि जानकारी दिइएन,” इनिशाका आफन्तले भने, “केटा पक्षका परिवारलाई दुई—दुई चोटी छलफल गर्न बोलाउँदा हामीलाई एकपटक पनि किन जानकारी गराइएन, त्यो शंकाको विषय छ ।”

यता, स्कुलका प्रधानाध्यापक सुशील भुसालले यो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । पढाइको विषय र स्कुलभित्रको अनुशासनको विषयमा कुराकानी भएको भन्ने मलाई स्टाफले जानकारी दिनु भएको छ, तर विद्यार्थीबीचको प्रेम सम्बन्धका बारेमा कसैले पनि आफूलाई यस्तो विषयमा ‘रिपोर्ट’ नगरेको बताए ।

इनिशाको घटना भएको पाँच दिन बितिसक्दा पनि स्कुलले आफ्नो विद्यार्थीको न्यायको लागि आवाज नउठाउनुले पनि आफन्तहरू झन सशंकित भएका छन् ।