अमेरिकाले १० नेताको सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने
काठमाडौं – अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसहित १० जनाको सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सूचना जारी गर्दै इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का वरिष्ठ नेताबारे सूचना दिनेलाई इनाम दिने जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले ती व्यक्तिहरूले विश्वभर आतंकवादी गतिविधि योजना, संगठन र सञ्चालन गर्ने आईआरजीसीका विभिन्न संरचनालाई निर्देशन र नियन्त्रण गर्न भूमिका खेलेको आरोप लगाएको छ।
अमेरिकाले सार्वजनिक गरेको सूचीमा १० जना इरानी अधिकारीमा इरानका सर्वोच्च नेता मोजतबा खामेनेई, सर्वोच्च नेताको कार्यालयका उपप्रमुख अली असगर हेजाजी, सैन्य सल्लाहकार मेजर जनरल यह्या रहिम सफावी, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा सल्लाहकार अली लारिजानी, गृहमन्त्री ब्रिगेडियर जनरल इस्कन्दर मोमेनी, गुप्तचर तथा सुरक्षा मन्त्री इस्माइल खातिब लगायत रक्षा परिषद्का सचिव, सर्वोच्च नेताका अन्य सल्लाहकार र आईआरजीसी कमान्डरसहितका पदाधिकारीहरू पनि सूचीमा समावेश गरिएको जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयले सम्भावित सूचनादातालाई टिओआर आधारित टिपलाइन वा ‘सिग्नल’ जस्ता इन्क्रिप्टेड प्लेटफर्ममार्फत सूचना पठाउन आग्रह गरेको छ। यो घोषणा अमेरिका र इसराइलले हालै इरानका लक्ष्यहरूमा गरेको सैन्य आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेको समयमा आएको हो।
गत फेब्रुअरी २८ मा भएको बम विस्फोटमा इरानका सर्वोच्च नेता अली खामेनेई मारिएपछि उनका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेताको नियुक्त भएका छन्। उनी गत सोमबार सर्वोच्च नेता नियुक्त भए पनि सार्वजनिक रूपमा भने कहिँ कतै नदेखिएको भनेर इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिहीबार मात्रै सरकारी टेलिभिजनमा एक प्रस्तोताले नयाँ सर्वोच्च नेता खामेनीको सन्देश पढेर सुनाएका थिए। त्यसमा उनले रगतको बदला रगतले लिने बताएका थिए। साथै स्ट्रेट अफ हर्मुज बन्द गर्ने नीति निरन्तर रहने बताएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खामेनी घाइते भएको समाचार पनि सार्वजनिक गरेका थिए। फेब्रुअरी २८ मा अमेरिका र इसराइलले गरेको संयुक्त हमलामा परी उनको खुट्टा भाँचिएको र अनुहारमा पनि चोट लागेको बताइएको छ।