प्रधानमन्त्री सुशीला कार्कीलाई प्रहरीका आईजीपीले थर्काए

आइतबार, १ चैत्र २०८२

काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीलाई प्रहरीका आईजीपीले थर्काएका छन् । सरकारको सफल नेतृत्व गर्दै विदा हुन लागेकी कार्कीले नाम नखुलाईकन एक आइजिपीले आफूलाई थर्काएको खुलासा गरेकी छन् ।

कार्कीले नेपाल प्रहरीका दुई र शसस्त्र प्रहरीका १ आईजीपीसँग काम गरेकी थिइन् । ‍कार्की प्रधानमन्त्री हुँदा चन्द्रकुवेर खापुङसँग चर्काचर्की परेको हुनसक्ने अनुमान लगाइएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा सरकार र प्रहरीबीच टसल परेको थियो ।

‘ त्यत्रो आन्दोलन भयो। त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा मुलुकलाई त ल्यायौँ नि। एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै। यो सबै संघर्ष त थियो नि, उनले भनिन्।

कार्की प्रधानमन्त्री हुँदा चन्द्रकुवेर खापुङ आइजिपी थिए। उनको कार्यकाल सकिएपछि दानबहादुर कार्की आइजिपी छन्।

त्यस्तै सशस्त्र प्रहरीतर्फ राजु अर्याल आइजिपी छन्। सशस्त्रमा आइजिपी परिवर्तन भएको छैन।

प्रधानमन्त्री कार्कीले आइजिपीले हप्काएको प्रसंग विस्तृतमा नबताए पनि असोज तेस्रो साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जाहेरी परेपछि प्रहरीमाथि दबाब बढेको थियो।

दबाबपछि सुरक्षा निकायका प्रमुखहरू बालुवाटार पुगेर प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतसँग बैठक गरेका थिए।

ओली र लेखकलाई पक्राउ गर्न काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहले पनि प्रधानमन्त्री कार्कीलाई दबाब दिएका थिए।