मन्त्रालयबाटै एक वरिष्ठ डिभिजन वन अधिकृत पक्राउ

सोमबार, २ चैत्र २०८२

काठमाडौं—मन्त्रालयबाटै एक वरिष्ठ डिभिजन वन अधिकृत पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पक्राउ परेका हुन् ।

भट्टमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमल्सिनाले जानकारी दिएका छन् ।

भट्टले केही दिनअघि एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । सो रकम दिन अस्वीकार गरेपछि आफूलाई डिभिजन वन कार्यालयबाट सरुवा गरिएको उनको दाबी थियो । यो विषय बाहिरिएपछि वन मन्त्रालयले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो ।