प्रमोद न्यौपाने रास्वपाको समानुपातिक सांसदमा सिफारिस नहुनुको बास्तविक रहस्य खुल्यो

सोमबार, २ चैत्र २०८२

काठमाडौं—प्रमोद न्यौपाने रास्वपाको समानुपातिक सांसदमा सिफारिस नहुनुको बास्तविक रहस्य खुलेको छ । बालेन शाहले आफू निकटका दुई जनालाई जसरी पनि सांसद बनाउनुपर्ने अडान नछोडेपछि रवि लामिछानेका अतिनै निकट प्रमोद न्यौपानेको नाम काटिएको हो ।

बालेनले आदिवासी–जनजाति पुरुषतर्फ तेस्रो नम्बरमा रहेका मिङमा ग्याबु शेर्पा र मधेशी क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेका खगेन्द्र कर्णलाई च्यापेपछि मुखमै आएको सांसद पद गुमेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ निर्वाचित आफ्ना ५७ जना सांसदहरुको सिफारिस गर्दा धेरैले एउटा नामको खोजी गरे, जुन सूचीमा समावेश थिएन । त्यो नाम हो, प्रमोद न्यौपाने ।

खस(आर्य पुरुषतर्फ तेस्रो नम्बरमा रहेका न्यौपाने समानुपातिक सांसदमा छनोट हुने ९९ प्रतिशत निश्चित मानिएको थियो । यसका मुख्य तीन कारण थिए । पहिलो, उनको योग्यता र क्षमता, दोस्रो– पार्टीमा खेलेको भूमिका र तेस्रो, सभापति रवि लामिछानेसँग व्यक्तिगत निकटता । उनी बाहिरिनुलाई रास्वपाभित्रै आश्चर्यको रुपमा हेरिएको छ ।

न्यौपाने रास्वपाको कुनै पनि औपचारिक पदमा छैनन् । तर, उनी पार्टीभित्र लोकप्रिय अनुहारहरुमध्ये पर्छन् । बालेनसँग एकताअघि समानुपातिक उम्मेदवार छान्न रास्वपाले गरेको आन्तरिक चुनाव (प्राइमरी इलेक्सन) मा उनलाई दोस्रो सर्वाधिक मत आएको थियो । यो लोकप्रियताका पछाडि पार्टीको नीति र नेतृत्वको रक्षाका लागि उनले गरेको योगदानको ठूलो हात छ ।

रास्वपाको नेतृत्वपङ्क्तिमै रहेका धेरै नेताहरू राजनीतिमा सिकारु अवस्थामै छन् । कतिपयसँग कुनै राजनीतिक पृष्ठभूमि र आधारभूत ज्ञानसमेत थिएन । यस्तोमा पार्टीका औपचारिक दस्तावेज लेखनदेखि सभापतिका वक्तव्य तयार गर्नसम्ममा न्यौपानेको खोजी हुने गर्थ्यो । अहिले पनि हुन्छ । लेखापढीको काममा रविले सबैभन्दा बढी भरोसा उनैलाई गर्छन् । पत्रकारिताको पृष्ठभूमिबाट आएको हुँदा न्यौपानेको मुख्य दक्षता पनि यही नै हो ।

सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएर पक्राउ परेपश्चात न्यौपाने उनको प्रतिरक्षामा सबैभन्दा अग्रपंतिमा उभिए । लामिछानेविरुद्ध हालिएको मुद्दा कसरी राजनीतिक प्रतिशोधप्रेरित हो भनेर जनमानसलाई बुझाउन उनले अथक परिश्रम गरे । देशका अधिकांस सञ्चारमाध्यमहरूले सभापतिको विषयमा एक खालको भाष्य बनाइरहँदा त्यसलाई चिर्नमा सबैभन्दा बढी न्यौपानेको भूमिका देखिन्छ । यो मुद्दाको विषयमा उनले अनेकन भिडिओ बनाएर जनताले बुझ्ने गरी प्रष्ट पारिदिएका छन् ।

लामिछानेको पक्षमा जनसमर्थन जुटाउन रास्वपाले देशव्यापीरुपमा वृहद हस्ताक्षर अभियान सञ्चालन गर्यो, जुन निकै प्रभावकारी बनेको थियो । पार्टीका कोषाध्यक्ष दीपक बोहराको अगूवाइमा सञ्चालित अभियानमा देखिएको जनसहभागिताले सिंगो रास्वपाको मनोबल उकासेको थियो । यो अभियानका ‘ग्राफिक डिजाइनर’ न्यौपाने नै हुन्। अभियान सफल पार्न उनी दिनरात खटिएका थिए ।

पत्रकारिता पृष्ठभूमिका न्यौपाने गहिरो राजनीतिक चेत र तार्किक क्षमताका लागि चिनिन्छन् । उनको संसद प्रवेश सिंगो रास्वपाका लागि महत्वपूर्ण थियो । पत्रकारिता गर्दादेखि नै संसदीय राजनीतिलाई नजिकबाट नियाल्दै आएका उनले सांसदभित्र प्रभावकारी भूमिका निभाउने आशा रास्वपाजनले गरेका थिए । न्यौपाने रोकिँदा उनीहरु खिन्न बनेका छन् ।

न्यौपाने पत्रकारिता जीवनदेखि नै लामिछानेका सहयात्री हुन् । उनले न्युज २४ र त्यसपछि ग्यालेक्सी टिभीमा रविसँग सहकार्य गरेका थिए । रास्वपाको स्थापनाकालदेखि नै रविलाई साथ दिँदै आए पनि उनले पार्टीमा कुनै पद मागेनन् । एउटा साधारण सदस्यकै रुपमा उनले आफ्नो बर्कतले भ्याएसम्म काम गरे ।

स्रोतका अनुसार रास्वपाको बन्दसूचीमा पर्नलाई पनि उनले कुनै लविङ गरेका थिएनन् । सूचीमा प्राथमिकता क्रममा तल रहेकाले उनको सम्भावना अनिश्चित थियो । यसलाई निश्चित गराउने गरी प्राथमिकताक्रममा आफूलाई माथि सार्न उनले सभापतिलाई दवाव दिएनन् । रास्वपाले आमनिर्वाचनमा देशव्यापी लहरसहित समानुपातिकमा ५७ सीट जितेपछि भने उनी संसद छिर्नेमा आशावादी बनेको निकटस्थहरु बताउँछन् । पुरुषतर्फ ९ जनाको कोटामा उनी पर्ने सम्भावना बलियो देखिएको थियो ।

रास्वपाले समानुपातिकबाट सिफारिस भएकाहरुको सूची अज्ञात कारणले अहिलेसम्म गोप्य राखेको छ । तर, नेपाल प्रेसमार्फत सार्वजनिक भएको सूचीमा खस–आर्य पुरुषतर्फ रमेश प्रसाईं मात्रै अटाएका छन् । उक्त क्लस्टरमा दोस्रो स्थानमा रहेका सुदिप ढकाल र तेस्रोमा रहेका न्यौपाने दुवै फालिए । सुदीप बालेनको कोटाबाट बन्दसूचीमा परेका थिए ।