बालेन शाह प्रधानमन्त्री बन्ने बाटो खुल्यो

बिहिबार, ५ चैत्र २०८२

काठमाडौं—बालेन शाह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फागनु २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेसँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

आयोगले प्रतिवेदन बुझाएसँगै राष्ट्पतिलाई नवनिर्वाचित सांसदहरुको शपथ गराउने र सरकार गठनको बाटो खुलेको छ । रास्वपा १८२ सीटसहित दुईतिहाइ नजिक पुगेकाले राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार संसदीय दलको नेतालाई सिधै प्रधानमन्त्रीमा नियुक्ति गर्ने छन् ।

शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । साथै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ पौडेलले भने ।