प्रधानमन्त्री सुशीका कार्कीको विवादास्पद निर्णयको विरोध गदै दुई सल्लाहकारले दिए राजीनामा
काठमाडौं—प्रधानमन्त्री सुशीका कार्कीको विवादास्पद निर्णयको विरोध गदै दुई सल्लाहकारले राजीनामा दिएका छन् । कार्की सर्वाधिक विश्वासपात्रका रुपमा रहेका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले एकसाथ राजीनामा बुझाएका हुन् ।
चैत १ गते बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गर्ने र प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णयमा आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिएकी छैनन् । नयाँ प्रधानमन्त्री नियुक्त भएपछि उनी स्वतः बहिर्गमित हुन्छिन् र सँगसँगै उनका सल्लाहकारहरू पनि पदमुक्त हुन्छन् ।
उनीहरूले राजीनामा दिइराख्नु पर्दैन तर, सरकारले गरेको दुईवटा विवादित निर्णयप्रति सांकेतिक असन्तुष्टिस्वरुप सल्लाहकारद्वयले राजीनामा दिएको खुलेको छ ।
गत चैत १ गते मन्त्रिपरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गर्ने र प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय लिएको थियो । यी दुवै निर्णय विवादित बनेका छन् । अर्यालको सिफारिस अहिलेसम्म राष्ट्रपति कार्यालयले होल्ड गरिरहेको छ ।
स्रोतका अनुसार यी दुई निर्णयमा सल्लाहकारद्वय खनाल र नारायण सहमत थिएनन् । उनीहरूले प्रधानमन्त्री समक्ष आफ्नो असहमति राखेको बुझिएको छ । यसअघि प्रधानमन्त्री हरेक विषयमा दुई सल्लाहकारहरूको भर गर्ने गर्थिन् । यो विषयमा भने आफूखुसी निर्णय लिएको र त्यसबाट पछि नहट्ने मनस्थिति बनाएपछि आपसमा सल्लाह गरेर खनाल र नारायणले एकै पटक राजीनामा गरेको स्रोतको दाबी छ । यद्यपि, उनीहरू दुवै यसबारे मौन रहने मनस्थितिमा छन् ।
राष्ट्रपतिले सरकारको निर्णय सदर नगरी होल्डमा राखेमा मन्त्रिपरिषदको अन्तिम बैठकले ओमप्रकाशलाई फेरि सिफारिस गर्ने आशंकाले गर्दा पनि त्यसको स्वामित्व नलिन उनीहरूले हतारिएर राजीनामा दिएका हुन् ।