पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध भएपछि नेपालमा पनि जोरविजोर प्रणाली लागु

आइतबार, ८ चैत्र २०८२

काठमाडौं—पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध भएपछि नेपालमा पनि जोरविजोर प्रणाली लागु गर्नेबारे छलफल चलेको छ ।

नेपाल आयाल निगम र यातायात व्यवस्था विभागले पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल चलाएका हुन् ।

अत्यधिक मूल्यवृद्धिका कारण आयाल निगमलाई दैनिक चार अर्ब रुपैयाँ घाटा बेहोरिरहेको आयाल निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् ।

यातायात व्यवस्था विभागले जोरबिजोर प्रणाली लागू गर्ने बारे एक चरणको छलफल भएको जनाएको छ । विभागका निर्देशक श्रीकान्त यादवका अनुसार पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको थियो ।

उनले सोही छलफलमा जोरबिजोर प्रणाली लागू गर्नेबारे पनि विचारविमर्श भएको पुष्टि गरे, तर ठोस निर्णय भने भई नसकेको स्पष्ट पारे । ‘जोर बिजोर प्रणाली लागू गर्नेबारे छलफल भएको हो, तर, ठोस निर्णय भएको छैन,’ निर्देशक यादवले भने ।

यद्यपि, नेपाल आयल निगमले हालसम्म नेपालको आपूर्ति प्रणालीमा पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नपरेको र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको जनाएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले भविष्यमा आइपर्ने चुनौती सामना गर्न खपत घटाउने तयारीमा जुटिएको निगमका अधिकारीले बताएका छन् ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पछिल्लो पटक मूल्य बढेर आएदेखि निगमले दैनिक चार अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा डिजेल प्रतिलिटर ५४ रुपैयाँले बढेर आए पनि निगमले १० रुपैयाँ मात्र मूल्य बढाएको छ ।

यस्तै, पेट्रोलमा ३१ रुपैयाँले बढेर आउँदा निगमले १५ रुपैयाँ मात्र बढाएको छ । ग्यासमा २१६ रुपैयाँ बढेर आए पनि पुरानै मूल्यलाई निरन्तरता दिइएको छ । प्रवक्ता ठाकुरले अन्तर्राष्ट्रिय बजारमा अझै मूल्य बढ्ने देखिएकाले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।