टिकटकरविरुद्ध सीआईबीमा मुद्धा हाल्ने नेक्साको निर्णय, नेक्सा अध्यक्षकै पद धरापमा
काठमाडौं – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले कोरियामा बसेर नेपालको शैक्षिक परामर्श व्यवसाय धराशायी बनाएको आरोपमा केही टिकटकरविरुद्ध उजुरी गर्ने निर्णय गरेको छ । मंगलबार बेलुका बसेको नेक्साको भर्चुअल कार्यसमिति बैठकले स्टडि इन कोरियासँग सम्बन्धीत भ्रम फैलाउनेविरुद्ध प्रमाण संकलन गरी आवश्यक परेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सीआईबी)मा उजुरी गर्ने निर्णय गरेको हो ।
नेक्साका अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा बसेको बैठकले ६ बटा निर्णय गर्दै बुँदा नम्बर ३ र ४ मा कोरियामा फेसबुक ग्रुप, ह्वाट्सएप ग्रुप तथा स्टडि इन कोरियाका सम्बन्धित समूहहरूमा फैलाइएका भ्रामक, अपुष्ट तथा नकारात्मक सामग्रीहरूको प्रमाण संकलन गरी आवश्यक परे सीआईबीमा उजुरी दर्ता गर्ने उल्लेख छ भने दक्षिण कोरियामा रहेर विभिन्न सोसियल मिडिया इन्फुलेन्सर हरूमार्फत फैलाइएका भ्रामक, भ्रमपूर्ण तथा संस्थाको प्रतिष्ठामा असर पर्ने सामग्रीहरूको तथ्यगत अध्ययन, प्रमाण संकलन तथा कानुनी परामर्शपछि आवश्यक परे सीआईबी लगायत सम्बन्धित निकायमा प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
नेपालका केही शैक्षिक कन्सल्टेन्सीको उक्साहटमा इन्फुलेन्सरहरुले विभिन्न ग्रुप बनाउने, एउटा कन्सल्टेन्सीमा एप्लाई गरिरहेको विद्यार्थीलाई अर्को कन्सल्टेन्सीमा गएर एप्लाई गर्न लगाउने, कोरिया पुगेपछि पिकअपदेखि कोठा खोजिदिनेसम्मको प्रलोभन देखाएको विषय बैठकमा उठेको थियो । त्यस्ता इन्फुलेन्सरले एउटा कन्सल्टेन्सीको सहयोगमा सम्पूर्ण व्यवसाय नै धरापमा पारेको नेक्साको ठहर छ । बैठकमा तीनै व्यक्तिले टिकटक लगायतका समाजिक संजालमार्फत कोरिया अध्ययन सम्बन्धी व्यवसायसँग सम्बन्धित भ्रामक भिडियो बनाउने, कोडभिसाका बारेमा अफवाहा फैल्याइएको विषयमा छलफल भएको नेक्साका एक साधारण सदस्यले बताएका छन् ।
बैठकमा टिकटकर भोजराज भट्ट र आशिष राईका विरुद्धमा सीआईबीमा उजुरी दर्ता गर्नुपर्ने विषय उठेको थियो । निर्णयमा टिकटकरको नाम नलेखेरै माइन्युटिङ गरिएको जनाइएको छ । भट्टले टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै डि२ कोडभिसा, डि४–१ र डि४–७ भिसामार्फत कोरिया आउँदा ठगीएका विद्यार्थीलाई सम्पर्कमा आउन आह्वान गरेका थिए ।
उनको आह्वानपछि थुप्रै विद्यार्थीले प्रमाणसहित आफू ठगीएको भन्दै विवरण बुझाएका थिए । भट्टले यसरी आएका गुनासोलाई कोरियास्थित नेपाली दूतावासमा सामुहिक उजुरी गरेको बताएका छन् । उनको उजुरीपछि दूतावासले नेपालस्थित शैक्षिक कन्सल्टेन्सीलाई कारवाही गर्न परराष्ट्र मन्त्रालयमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले अनुसन्धान गरिरहेको छ ।
४ सय ४५ जना विद्यार्थीले गरेको उजुरीमा अधिकांशले धेरै रकम लिएर ठगेको आरोप लगाएका छन् । उजुरीपछि शाखाले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका १३ कन्सल्टेन्सीलाई स्पष्टिकरण सोधेको छ । शाखाले बिहीबार कन्सल्टेन्सीलाई पठाएको पत्रमा विश्वविद्यालयको ट्युसन फि, एजेन्सी चार्ज, कन्सल्टेन्सीले लिएको सर्भिस चार्जको विवरणसहित विद्यार्थीसँग गरेको सम्झौतासमेत माग गर्दै स्पष्टिकरण सोधेको हो । मन्त्रालयबाट स्वीकृति नलिएका कन्सल्टेन्सीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी छ ।
टिकटकरको भूमिका संकास्पद
दुबै जना टिकटकरले नेपालकै केही कन्सल्टेन्सीको प्रभावमा परेर बाँकी शैक्षिक कन्सल्टेन्सीविरुद्ध भ्रम फैल्याइएको आरोप लागेको छ । नेक्साकै अध्यक्ष सन्तोष खनालले कोडभिसा बन्द गराउने उद्येश्यका साथ टिकटकरलाई प्रयोग गरेको हुनसक्ने धेरैको अनुमान छ । मोटिभेट न्यूज डटकमलाई प्राप्त प्रमाणहरुले पनि सन्तोषले विद्यार्थीलाई प्रयोग गरेर कोरिया अध्ययन सम्बन्धी व्यवसायलाई ध्वस्त बनाउन लागेको पुष्टि गरेको छ ।
‘सन्तोष खनालको सिल्भर एजुकेशन फाउण्डेशनसँग कोडभिसामा विद्यार्थी भर्ना गर्नका लागि विश्वविद्यालयको एजेन्सी छैन् । उहाँ अर्को कन्सल्टेन्सीलाई फायल दिन पर्ने बाध्यताका कारण आजित हुनुभएको छ ।’, कोरिया शैक्षिक परामर्श संघ, नेपाल (केक्यान) का एक पदाधिकारीले भने, ‘उहाँ सुरुवाती दिनमा कोड भिसामा विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको खोजीमा हुनुहुन्थ्यो । कोरियाका विश्वविद्यालयले एजेन्सी दिन अस्वीकार गरेपछि भिसा कोड बन्द गराउने अभियानमा लाग्नुभयो र टिकटकरलाई प्रयोग गर्नुभयो । जसको परिणाम अहिले देखिएको छ ।’
खनालले भोजराज भट्टलाई प्रयोग गरेको मोटिभेट न्यूजलाई प्राप्त प्रमाणले पुष्टि गरेको छ । विद्यार्थीलाई प्रभावित पार्न खनालले बनाएको ह्वास्टएप ग्रुपमा भट्ट पनि एडमिन छन् । त्यही ग्रुपबाट भट्टले अरु कन्सल्टेन्सीबाट भिसा एप्लाई गरिरहेका विद्यार्थीलाई फि सस्तो पर्ने आश्वासनसहित सिल्भरबाट एप्लाई गर्न लगाउने गरेका छन् । सो कुरा भट्टले पनि स्वीकार गरेका छन् । ‘सन्तोष सर एउटा संघको अध्यक्ष भएकाले मलाई उहाँबाट गलत नहोला भन्ने लागेको थियो । सायद गलत गर्नुहुन्न पनि होला ।’, मोटिभेट न्यूजसँगको भर्चुअल संवादमा उनले भने, ‘उहाँले विद्यार्थी ठगेको नसुन्दासम्म काम गर्छु । कसैको जिम्मा त लिन सकिदैन ।’

अध्यक्षलाई बर्खास्त गर्ने तयारी
नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)का पदाधिकारी, कार्यसमिति सदस्यहरु तथा संघका साधारण सदस्यहरुले अध्यक्ष सन्तोष खनाललाई बखास्त गर्ने तयारी गरेका छन् । विद्यार्थी उचालेर कोरिया सम्बन्धी शैक्षिक परामर्श व्यवसाय शंकटमा पारेको भन्दै सिंगो कार्यसमितिले बर्खास्त गर्ने तयारी थालेको हो । व्यवसायीले सुरुमा सन्तोषको राजीनामाको अपेक्षा राखेको बताउँदै राजीनामा नआए स्पष्टिकरण सोधिने नेक्साका एक पदाधिकारीले बताएका छन् ।
नेम्साको आधिकारिक म्यासेन्जर ग्रुपमा लेख्दै व्यवसायी र विद्यार्थीको हितका लागि खुलेका संस्थाका अध्यक्ष व्यवसायी र विद्यार्थीविरुद्धमा लागेपछि राजीनामा मागेको बताएका छन् । उनी कोरियामा रहेकाले केही निर्णय गर्न नसकिएको बताउँदै नेपाल आए लगत्तै स्पष्टिकरण सोध्ने बताइएको छ । ‘उहाँ नेपालमै भएको भए आजसम्म हटाइसकेका हुन्थ्यौं । तर उहाँ कोरियामा हुनुहुन्छ । विदेशमा जाँदा कार्यबहाक अध्यक्ष दिने चलन छ तर उहाँले अरु कसैलाई कार्यवहाक पनि दिनु भएको छैन ।’, नेक्साका एक पदाधिकारीले भने, ‘तर १ जना बाहेक कार्यसमितिमा उहाँलाई सहयोग गर्ने कोही पनि छैन् । उहाँको राजीनामा नआए हामी बहुमतले उहाँलाई कारवाही गरेर नेक्सालाई शसक्त संघ बनाउँनेछौं ।’
व्यवसायीले खनालमाथि नेक्साको इमेलको दुरुपयोग गर्दै आफ्नो कम्पनीका लागि एजेन्सी डिल गरेको, अध्यक्षको पदको दुरुपयोग गर्दै विद्याविद्यालयमा बार्गेनिङ गरेको, नेक्साकै पदाधिकारी तथा सदस्य कन्सल्टेन्सीविरुद्ध निरन्तर क्रियाकलाप गरेको, कन्सल्टेन्सी र विद्यार्थीविरुद्ध लाग्ने इन्फुलेन्सरसँग साँठगाड रहेको आरोप लगाएका छन् । व्यवसायीले मंगलबार बसेको भर्चुअल बैठकमा समेत भोजराज भट्ट देखिएकाले कारवाहीको वातावरण बनेको बताएका छन् ।
सवएजेण्टले डुवाए
कोड भिसा कोरियाका उत्कृष्ट विश्वविद्यालयले पाउने उच्च स्तरको सरकारी सुविधा हो । कोरियन सरकारलाई सम्बन्धीत विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना गरेपछि राम्रो अध्ययन गराउन सक्छ भन्ने विश्वास लागेपछि कोड भिसाको सुविधा दिन्छ । विश्वविद्यालयले आफ्नो शैक्षिक स्तर कायम राख्न विद्यार्थीलाई निकै अनुशासनमा राख्ने गरेका छन् ।
सामान्य विश्वविद्यालयमा हप्तामा दुई दिनमात्र कक्षा लिएर थप समय काम गर्न पाइने सुविधा भएपनि यी विश्वविद्यालयमा हप्तामा ३ देखि ५ दिन अध्ययन गर्नुपर्ने हुन्छ । विद्यार्थीले विरामी परेको खण्डमा बाहेक १ दिन गयल हुन पाइदैन । विद्यार्थी गयल भएको खण्डमा विश्वविद्यालयको शैक्षिक स्तर खस्किने, कालोसूचीमा पर्ने लगायतका डरले विद्यार्थीलाई कडा अनुशासनमा राखिएको हो।
केही विश्वविद्यालयले विद्यार्थीले पुरा अवधि अध्ययन गर्ने ग्यारेन्टीका लागि ४-८ सेमिस्टरसम्मको ट्युसन फि सुरुमै लिने गरेका छन् । विश्वविद्यालयको प्रतिसेमिस्टर १ लाखदेखि २ लाख पर्ने गरेको छ । चार सेमिस्टको पैसा बुझाउँदा विद्यार्थीलाई ४ देखि ८ लाखसम्म ट्युसन फि, एजेन्सी चार्ज र कन्सल्टेन्सीको सर्भिस शुल्क बुझाएर विद्यार्थी कोरिया पुग्ने गरेका छन् । पहिलो सेमिस्टरको भाषा कक्षा समाप्त भएपछि विद्यार्थीले भिसा परिवर्तन गर्नुपर्ने हुन्छ ।
भिसा परिवर्तनका लागि कोरियाको सियोलस्थित नेपाली दूतावासबाट एउटा सिफारिस लिनुपर्ने हुन्छ । त्यही सिफारिस लिन जाँदा दूतावासका कर्मचारीले अनावश्यक टचर दिएर कन्सल्टेन्सीको नाम, लागत लगायतका विषयमा केरकार गर्ने गरेको विद्यार्थीको गुनासो छ । दूतावासका कर्मचारीलाई विद्यार्थीले विश्वविद्यालयको ट्युसन फि, एजेन्सी चार्ज, भिसा फि, कन्सल्टेन्सीको सर्भिस चार्ज, टिकट तथा काठमाडौं र कोरियाको अकोमेण्डेशनसहित जोडेर बताउने गरेका छन् । विद्यार्थीले भनेका विषयलाई उजुरी मानेर दूतावासका कर्मचारीले रिपोर्ट बनाउँदै नेपाल पठाउने गरेको परामर्श व्यवसायीको आरोप छ ।
सिधै एजेन्सी भएको शैक्षिक कन्सल्टेन्सीबाट जाँदा विद्यार्थीलाई सस्तो पर्ने गरेको छ भने सवएजेण्ट हुँदै जाने विद्यार्थीलाई महङ्गो शुल्क पर्ने गरेका छन् । नेपालमा कोडभिसाको काम खुशी इन्टरनेशल एजुकेशनल कन्सल्टेन्सी, युनिभा एजुकेशन कन्सल्टेन्सी, सिलिकन एजुकेशन नेटवर्क, गोल्डेन इमिनेन्ट लगायतले गर्दै आएका छन् । यी कन्सल्टेन्सीमार्फत काम गर्नेभन्दा सवएजेण्टका रुपमा काम गर्ने शैक्षिक कन्सल्टेन्सीले धेरै रकम लिने गरेका छन् ।
‘कोरियाको एजेण्टलाई बुझाउनु पर्ने, नेपालको मुख्य एजेण्टलाई बुझाउनु पर्ने, आफू पनि कमाउनु पर्ने भएकाले अरु कन्सल्टेन्सीबाट आउने विद्यार्थी ठगीएका हुन् । सिधै एजेन्सी भएको कन्सल्टेन्सीबाट एप्लाई गर्ने विद्यार्थी ठगीन्नन् ।’, इक्यानले आयोजना गरेको छलफलमा एक व्यवसायीले भनेका थिए, ‘३ देखि ५ तहसम्म कमिसन जोडिने हुँदा विद्यार्थी मर्कामा पर्ने गरेका छन् । सवएजेण्टको व्यवस्था हटाएर विद्यार्थीलाई राहत दिनुपर्छ ।’
श्रोतका अनुसार प्रत्यक्ष कन्सल्टेन्सीले १ हजार अमेरिकी डलरदेखि ३५ सय अमेरिकी डलरसम्म एजेन्सी चार्जका नाममा उठाउने गरेका छन् । तीनदेखि पाँच तहसम्मको कमिसन जोडिदाँ विद्यार्थी तीनदेखि पाँच गुणा महङ्गोमा पर्ने गरेका छन् ।
कस्ता विद्यार्थीका लागि हो कोडभिसा ?
दक्षिण कोरियाले अध्ययनका लागि जाने विद्यार्थीलाई नेपालस्थित कोरियन दूतावासले सुरुमा विद्यार्थी शैक्षिक प्रमाणपत्र प्रमाणिकरणका लागि समय दिने गरेको छ । कागजपत्र प्रमाणिकरण भएको केही महिनापछि भिसा एप्लाई मिति पाइन्छ । सोही मितिमा भिसा एप्लाई गरेपछि दूतावासले योग्य विद्यार्थीलाई छनोटगरी भिसा दिएर पठाउने गरेको छ । तर कोडभिसामा यस्तो झण्झट गर्नुपर्दैन । कोरियास्थित भिसाकोडका लागि स्वीकृत प्राप्त विश्वविद्यालयहरुले विद्यार्थीको अन्तरवार्ता लिने गरेका छन् । भर्चुअव वा फिजिकल अन्तरवार्तामा पास भएका विद्यार्थीलाई विश्वविद्यालयले नै सिधै भिसा पठाइदिने गरेको छ । सोही भिसा लिएर विद्यार्थी कोरिया पुग्ने गरेका छन् ।
नेपालबाट भिसा लगाएर जाने विद्यार्थीले २.८ जिपिए ल्याएको हुनपर्छ भने अग्रेजी भाषा परीक्षा IELTS मा न्यूनतम ५.५ ल्याएको हुनुपर्छ । तर कोडभिसामा जाने विद्यार्थी पासमात्रै भएको भएपनि योग्य हुन्छ । आईएलटिएस वा अन्य कुनै पनि भाषा परीक्षाको स्कोर आवश्यक पर्दैन । यस्तो विद्यार्थीले कोरिया पुगेपछि ६ महिना कोरियन वा अंग्रेजी भाषा अध्ययन गर्नपर्छ । भाषा परीक्षा पास गरेपछि मात्र विद्यार्थीले एकेडेमिक अध्ययन गर्ने मौका पाउँछन् ।
यो थोरै स्कोर भएका, विदेश अध्ययनको सपना देखेका तर योग्यता नपुगेका विद्यार्थीका लागि धेरै राम्रो भिसा हो । यसलाई दुरुपयोग गर्दै छिटो कमाउन खोज्दा यो भिसाकै बदनाम भएको छ ।