मध्यरातमा भेट्न बोलाएर किशोरको हत्या गर्ने तीन जना पक्राउ
काठमाडौँ – दाङमा एक किशोरको हत्या भएको छ। राप्ती गाउँपालिका-२ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको बिहीबार राति हत्या भएको हो। उनको शव शुक्रबार मध्याह्न राप्ती-४ दोलाइ खोलाको सुक्खा नालामा भेटिएको थियो।
टाउको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा स्मिथ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए।
स्मिथका साथी राप्ती – १ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते छन् । राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार पछि थप उपचारका लागि उनलाई बुटवल रेफर गरिएको एसपी श्रेष्ठले जानकारी दिए।स्मिथलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका निवासी १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै १८ वर्षीया आकृति बुढा छन्।एसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मध्येरातमा भेट्न बोलाएर कुटपिट गरेको र सो क्रममा स्मिथको हत्या भएको खुलेको छ।
‘नियन्त्रणमा लिएर दुवै हात बाँधिएको, मुखमा कपडा कोचिदिएर बोल्न नदिएको, चक्कुले छाती तथा अनुहारमा पट-पटक आक्रमण भएको र हत्या पछि घिसारेर नालामा फालेको भन्ने तथ्य खुलेको छ,’ एसपी श्रेष्ठले भने।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर बाबुराम बस्नेतका अनुसार आयुषमानलाई ‘देबीसरा गाहा र स्वस्तिका राना मगर’ नाम उल्लिखित फेसबुक मेसेन्जरबाट भेट्न आऊ भनेर बोलाइएको थियो। त्यसपछि स्मिथ र आयुषमान बिहीबार बेलुकी ८ बजेतिर घरबाट सँगै राप्ती गाउँपालिका– ४ तर्फ निस्किएका थिए।
बोलाएको ठाउँमा पुग्दा त्यहाँ एक जना युवती (आकृति) थिइन्। उनले दुवैलाई लिएर केही पर एकान्तमा ठाउँमा पुगेपछि आयुषमानलाई ‘तिम्रो लागि अर्को मान्छे आउँछ, यहीँ बस्नू’ भनेर स्मिथलाई मात्रै लिएर गएकी थिइन्।
‘५/७ सय पर सन्दीप र निश्चल बसेका थिए। आकृतिले त्यहाँ पुर्याउनासाथ उनीहरुले स्मिथको हात बाँधे, कुटपिट गरेका थिए,’ आरोपीहरूको भनाइ उल्लेख गर्दै इन्स्पेक्टर बस्नेतले भने।पछि आयुषमानमाथि उनीहरुले कुटपिट गरेका थिए। जसोतसो गरेर उनी भने उम्किएर शुक्रबार बिहान(३ बजे राप्ती गाउँपालिका-४ मौरीघाटस्थित दिदीको साथी गंगा रोकाको घरमा पुगेका थिए।
आयुषमानको ढाड, बाँया आँखा, बाँया गाला, कानमा चोट लागेको थियो। चोट ग्रस्त अवस्थामा पुगेका मगरलाई गंगा लगायतले बिहान ४ बजेतिर उपचारका लागि राप्ती आधारभुत अस्पताल सिसहनिया पुर्याएका थिए।उनले नै घटनाबारे इलाका प्रहरी कार्यालय सिसहनीयामा तत्काल खबर गरेकी थिइन्।
त्यसपछि प्रहरी चौकी मसुरियाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्रकुमार मल्ल अस्पताल पुगेका थिए। केही बेरमा सिसहनियाबाट प्रहरी नायव निरीक्षक बुद्धी रानाको टोली पनि पुगेको थियो।सोधपुछका क्रममा आयुषमानले राति ११ बजे घटना हुँदा आफ्नो साथी स्मिथ पनि साथमै रहेको र उनीमाथि पनि निर्घात कुटपिट भएको उनले प्रहरीलाई बताएका थिए।