प्रधानमन्त्री शाहको र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

शुक्रबार, ४ बैशाख २०८३

काठमाडौं—प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को विवादास्पद पुरानो र्‍याप भिडियोविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले प्रधानमन्त्री शाहको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका हुन् ।

उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देशले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने तथा हिंसा, बलात्कारलाई प्रोत्साहन गर्ने प्रकृतिको भएको उनीहरूले बताएका छन् ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सक्रिय सदस्य पवन राई (बाबु दुमी), विवेक मगर, मनिनन्द्र सिंह दनुवार र रोजी पुनले उजुरी दर्ता गराएकी हुन् । उनीहरूले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट विगतका यस्ता सामग्रीहरूको जवाफदेहिता आवश्यक रहेको स्पष्ट पारेका छन् ।

साइबर ब्युरोले उक्त भिडियो हटाउने विषयमा पहल गर्ने मौखिक आश्वासन दिएको उनीहरूले जानकारी दिए ।