बाढी प्रभावितलाई नेपाली मुस्लिम समाज सुनसरीको ६२ लाख बढी सहयोग
काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारणले प्रभावित भएका रसुवा लगायतका क्षेत्रका बाढी पीडित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाजले ६२ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा मुस्लिम समाज सुनसरीले ६२ लाख ४५ हजार ४९ रुपैयाँ हस्तान्त्रण गरेको मुस्लिम समाजका अगुवा हरुन अंसारीले बताए ।
प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यवसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट स्वेच्छिक रूपमा सङ्कलन गरिएको रकम सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालयमार्फत प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा हस्तान्त्रण गरेर भौचर तथा विवरण हस्तान्त्रण गरेको मुस्लिम समाजका नइम अंसारीले बताए ।
नेपाली मुस्लिम समाज सुनसरीको प्रतिनिधि मण्डलले सङ्कलित रकमको बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरण सहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्याललाई हस्तान्तरण गरेका थिए ।
मुस्लिम समाजले सञ्चालन गरेको अभियान र देखाएको ऐक्यबद्धताको प्रशंसा गर्दै प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनरुत्थानमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा कोशी प्रदेशका सांसद इस्राइल मंसुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, मौलाना हारुन खान, मेहदी हुसेनलगायतका मुस्लिम समुदायका अगुवाहरुको सहभागीता रहेको थियो ।