कालिकाेटमा संयुक्त बजार अनुगमन : म्याद गुज्रेका खाद्य सामग्री नष्ट
कालीकाेट – जिल्ला प्रशासन कार्यालय, कालीकोटकाे नेतृत्वमा खाँडाचक्र नगरपालिका–१ स्थित मान्म बजारमा संयुक्त बजार अनुगमन गरिएकाे छ। बिहिवार दिउँसो प्रशासन कार्यालयकाे अगुवाइमा जिल्ला प्रहरी कार्यालय, कालीकोट, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जुम्ला तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालीकोटले संयुक्त रूपमा बजार अनुगमन गरेका हुन् ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा, बजार व्यवस्थापन तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले होटल तथा खाद्य व्यवसायीहरुको अवस्थाबारे निरीक्षण गरिएको हो। अनुगमन टोलीले मान्म बजार क्षेत्रमा सञ्चालनमा रहेका १० वटा होटल व्यवसाय तथा ३ वटा खाद्य खुद्रा पसलको निरीक्षण गरेको जनाएको छ।
निरीक्षणका क्रममा केही व्यवसायीले सरसफाइ, खाद्य भण्डारण तथा मापदण्ड पालना गर्न लापरवाही गरेको पाइएको थियो। विशेषगरी एक होटलमा अत्यन्त कमजोर सरसफाइ अवस्था देखिनुका साथै म्याद गुज्रेका खाद्य सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि प्रचलित कानून बमोजिम रु. १० हजार जरिवाना गरिएको थियो ।
त्यसैगरी अनुगमनका क्रममा बजारबाट म्याद गुज्रेका विभिन्न खाद्य तथा पेय पदार्थहरू समेत जफत गरिएको थियो। टोलीका अनुसार जम्मा रु. ७ हजार ८ सय ५४ बराबरका म्याद नाघेका खाद्य सामग्री तथा पेय पदार्थ नियन्त्रणमा लिई तत्काल नष्ट गरिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता गतिविधिलाई नियन्त्रण गर्न प्रशासनले आगामी दिनमा समेत नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
अनुगमन टोलीले होटल तथा खाद्य व्यवसायीहरुलाई उपभोक्तामैत्री सेवा प्रवाह गर्न विभिन्न सुझाव तथा निर्देशन समेत दिएको छ। टोलीले होटल तथा पसल परिसरको नियमित सरसफाइमा विशेष ध्यान दिन, म्याद गुज्रेका सामग्री तत्काल हटाई नष्ट गर्ने व्यवस्था मिलाउन तथा खाद्य सामग्री सुरक्षित, स्वच्छ र मापदण्ड अनुसार भण्डारण गर्न आग्रह गरेको छ।
त्यसैगरी व्यवसायीहरुलाई आवश्यक इजाजतपत्र तथा दर्ता समयमै नवीकरण गर्न, मूल्यसूची स्पष्ट रूपमा राख्न तथा उपभोक्तालाई ठगी हुने खालका गतिविधि नगर्न चेतावनी दिइएको छ। खाद्य तथा गैरखाद्य वस्तु अलग–अलग स्थानमा भण्डारण गर्नुपर्ने तथा होटल व्यवसायीहरुले आफ्ना सेवाग्राहीहरुको नियमित अभिलेख राख्नुपर्ने विषयमा समेत टोलीले विशेष निर्देशन दिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, कालीकोटका अनुसार बजार अनुगमन कार्यक्रम उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि नियमित रूपमा सञ्चालन गरिनेछ। प्रशासनले व्यवसायीहरुलाई कानून तथा मापदण्डको पालना गर्दै जिम्मेवार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ भने उपभोक्तालाई पनि सचेत भई गुणस्तरीय वस्तु तथा सेवा मात्रै प्रयोग गर्न अनुरोध गरेको छ। स्थानीयवासीहरुले यस्ता अनुगमन कार्यक्रमलाई प्रभावकारी र निरन्तर बनाउनुपर्ने मागसमेत गरेका छन्।
