फेरी डुब्यो रौतहट, कति भयो क्षति ?
रौतहट : मंगलवार बिहानैदेखी परेको अविरल बर्षाको कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले सयौं घर डुुबानमा परेको छ । लालबकैया नदीको बाढीले भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका १ बनजरहा टोल र गौर नगरपालिका महादेवपटीका सयौं घर डुुबानमा परेको हो ।बाढीको पानीले बनजरहामा एकसय भन्दा बढी घर डुुबानमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
बनजरहाका विस्थापित परिवारका मानिस विद्यालय, मश्जिद, आफन्त र कतिपय परिवार बाटोमै पाल टाँगेर बसिरहेका छन् ।विस्थापितमध्ये राजुु शहनीको श्रीमती २२ वर्षीया मनिषादेवी शहनीलाई सुुत्केरीको ब्यथा लाग्दा प्रहरीचौकी बनजरहाका सई अक्षय कुमार साहको नेतृत्वको उद्धार टोलीले डुुंगामा राखेर उद्धार गरेको छ । उनलाई उद्धार टोलीले नै सुत्केरीका लागी सिमावर्ती भारतीय बजारमा पुरयाएको प्रवक्ता कार्कीले जानकारी दिएका छन ।
विस्थापित परिवारका मानिस विभिन्न दाताले उपलब्ध गराएको राहतको भरमा चलिरहेका छन् । कतिपय परिवारले भात पकाउने अवस्था नहुँदा चाउचाउ र चिउरा खाएर दिन काटिरहेको स्थानीय समाजसेवी गृषनन्दन सिंहले बताए ।
त्यसैगरी अविरल बर्षाको पानीले गौर नगरपालिका महादेवपटी ठोलमा एक दर्जन बढी घर डुुबानमा परेको छ ।डुुबानमा परेका घरका मानिसहरु धर्मशाला, विद्यालय र छिमेकमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अविरल बर्षा र बागमती, बकैया लगायतका नदीहरुमा आएको बाढीले जिल्लास्थित हजारौं घर प्रभावित भएको छ ।बर्षा र बाढीको पानीले जिल्लाको ८० प्रतिशत भुुभाग डुुबानमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगगरी लालबकैया नदीमा आएको बाढीले जिल्लाको कटहरिया, देवाहीगोनाही, फतुुआ बिजयपुर, राजपुर र ईशनाथ नगरपालिकाका विभिन्न वडामा तिब्ररुपमा जग्गा कटान सुुरु गरेको छ । गत असार २७ र २८ गते लालबकैया नदीमा आएको बाढीले कटहरिया,देवाही,गमहरिया,बुुनियाद,लक्षमिनिया,बनजरहा स्थित र बागमती नदीले ब्रहमपुरी लक्षमीपुर बडहवरवा नजिकबाँध कटान गरेको थियो । कटान बाँध मर्मत नहुुँदै बुधवार बिहानैदेखी बागमती र लालबकैया नदीमा पानीको स्तर बढदै गएपछी डुुबानको जोखिम बढदै गएको स्थानीयहरुको चिन्ता छ ।
गौर नगरको सबगढा लच्का (पुल) डुबानमा
अविरल वर्षा र लालबकैया नदीमा आएको बाढीको पानी छिरे पछि गौर बजारभन्दा करिव २ किलोमिटर उत्तर सबगढा चोकस्थित लच्का (पुल) डुबानमा परेको छ । पश्चिमतर्फबाट बर्षा र बाढीको पानीको दवाब बढेको कारण चन्द्रपुर गौर सडकखण्ड अन्तरगत सबगढा नजिकको लच्का डुबानमा परेको हो । लच्कामा आवतजावतमा समस्या भइरहेको छ ।
उक्त लचकामा तिन चार फिट सम्म पानी तिब्रगतिमा बहाव सुुरु भएपछि साना सवारीहरु सदरमुकाम गौर पुग्न कठिनाई भइरहेको छ । लचका नजिक पानीको दवाब बढन थालेपछि बिहिवार बिहान १० बजेदेखी नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाले लच्काको पश्चिमी पिलरमा डोरी बाँधेर बिस्तारै पैदल यात्रुुलाई वारपार गराइरहेका छन् ।
त्यसैगरी अमरदल गण पुरेनवाबाट लप्टन मिलन खत्रीको नेतृत्वमा गएका नेपाली सेनाका जवानहरुले साईकल,मोटरसाईल जस्ता सानासवारीलाई समातेर बिस्तारै वारपार गराइरहेका छन् ।