बन्दुकधारी समुह प्रहरी नियन्त्रणमा

शनिबार, ११ साउन २०७६

विराटनगर – मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार बन्दुकधारी समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई फेला पारेको थियो ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।