जेलबाट विज्ञप्ति निकाल्दै इक्यान कास्कीका अध्यक्षले भने, ‘सरकारको चेत खुलोस्’

शुक्रबार, २६ असार २०८३

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाका अध्यक्ष ओमप्रकाश गैरेले बालेन सरकार अचेत अवस्थामा रहेको आरोप लगाएका छन् । प्रहरीको हिरासतमा रहेका गैरेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई अचेत अवस्थामा रहेको आरोप लगाएका हुन् ।

सरकारले स्वीकृत गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (संचालन तथा व्यवस्थापन) नियमावली २०८३’को विरोध गर्दै निकालिएको विज्ञप्तिमा सरकारलाई बेलैमा चेत पुऱ्याई नियमावली फिर्ता लिन माग गरिएको छ । विज्ञप्तिमा अध्यक्ष गैरे र सचिव सुरेन्द्र बरालको हस्ताक्षर रहेको छ । उनीहरु दुवैजना पोखरामा नभएको अवस्थामा इक्यान कास्कीको सचिवालयले हस्ताक्षर कीर्ते गर्दै विज्ञप्ति निकालेको हो ।

विज्ञप्तिमा अव्यवहारिक नियमावली फिर्ता लिन, इक्यान लगायतका सम्बन्धित आधिकारिक निकायहरूसँग गहन छलफल, कार्यदल गठन र व्यावहारिक मस्यौदा तयार गरी राज्य, विद्यार्थी र व्यवसायी सबैको हित हुने सन्तुलित नीति मात्र लागू गर्न, विद्यार्थीको हकहित संरक्षण गर्ने बहानामा कानुनी रूपमा अबौंको लगानी गरिरहेका र हजारौंलाई रोजगारी दिइरहेका संस्थाहरूलाई विस्थापित गर्ने नीति बन्द गरी प्रोत्साहनमूलक नीतिगत व्यवस्था कायम गर्न माग गरिएको छ ।

‘हामी सरकारसँग सधैँ रचनात्मक संवाद, सहकार्य र कानुनी शासनको पक्षमा छौं । तर, सरोकारवालाहरूलाई बाहिर राखेर चालिने यस्ता अपरिपक्व कदमहरूविरुद्ध कडा आन्दोलनमा उत्रिन हामी बाध्य हुनेछौं ।’, विज्ञप्तिमा भनिएको छ, ‘अतः बेलैमा चेत पुऱ्याई यो निर्णय सच्याउन र संयुक्त मस्यौदा निर्माणको प्रक्रिया अघि बढाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

सरकारलाई अचेत भन्दै विज्ञप्ति निकाल्ले गैरी श्रीमती कुटेको अभियोगमा पक्राउ परी प्रहरीको हिरासतमा रहेका छन् । उनीमाथि अभद्र व्यवहारको मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नबीन कार्कीका अनुसार श्रीमतीको उजुरीका आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यता, इक्यान कास्कीका उपाध्यक्ष धनबहादुर शाहीले दुबै जनाको अनुमति लिएर विज्ञप्ति निकालिएको स्वीकार गरेका छन् । ‘अध्यक्ष ज्यूको अनुमति लिएर हामीले विज्ञप्ति निकालेका हौं । सचिव ज्यू पनि आइसक्नु भएको छ ।’, मोटिभेट न्यूजसँगको संवादमा उनले भने ।

यता, इक्यानका सचिव सुरेन्द्र बरालले विज्ञप्तिका विषयमा आफूलाई खासै जानकारी नभएको बताए । तपाईंको पनि हस्ताक्षर छ नी भन्ने प्रश्नमा उनले भने, ‘म बुझेर तपाईंलाई खबर गर्छु सर । मलाई यस विषयमा खासै जानकारी भएन ।’ इक्यान अध्यक्ष र सचिवलाई समेत जानकारी नगराई विज्ञप्ति निकालेपछि इक्यान कास्कीमा खैलाबैला मच्चिएको छ । पूर्वअध्यक्ष, सल्लाहकार तथा कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरुले यो घटनालाई गम्भीर रुपमा लिएको बताएका छन् ।

अध्यक्ष गैरेको कार्यशैलीले इक्यानको बदनाम भएको बताउँदै बहुमत सदस्यहरुले यसअघि नै अविश्वासको प्रस्ताव राखेर हटाउने प्रयास गरेका थिए । इक्यान केन्द्रको हस्तक्षेपका कारण गैरेको बहिर्गमन रोकिएको थियो ।