संघर्ष समितिले गरेको सहमति मान्ने केक्यानको निर्णय

बिहिबार, १४ साउन २०८३

काठमाडौं – कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले शैक्षिक परामर्श सम्बन्धी नियमावली संशोधनका लागि संघर्ष समितिले गरेको सहमति स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको केक्यानको बोर्ड बैठकले शैक्षिक परामर्श व्यवसायी महासंघसहित संयुक्त संघर्ष समितिको नेतृत्वमा बन्ने वार्ता समिति र शिक्षा मन्त्रालयबीच भएको सहमति स्वीकार गर्ने निर्णय गरेको हो ।

केक्यानका अध्यक्ष विष्णु खड्काको अध्यक्षतामा होटल हार्दिकमा बसेको बैठकले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (संचालन र व्यवस्थापन) नियमावली २०८३’ संशोधनका लागि हुने सहमति स्वीकार गर्ने निर्णय गरेको हो । यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मन्त्रालयमा भएको छलफलपछि नियमावली संशोधनका लागि सरकार तयार भएको थियो ।

शैक्षिक परामर्श क्षेत्रका संघ, संस्थाहरुसँगको छलफलमा मन्त्री पोखरेलले समिति बनाएर नियमावली संशोधनको काम सुरु हुने बताएका थिए । समितिमा शैक्षिक परामर्श व्यवसायीको समेत प्रतिनिधित्व हुने बताइएको छ ।

बैठकमा केक्यानका सदस्य तथा पदाधिकारीहरुले धरौटी व्यवस्था, कार्यालयको मापदण्ड लगायतका विषय संशोधन हुनुपर्ने बताएको केक्यानका अध्यक्ष खड्काले जानकारी दिएका छन् ।