१८ महिनादेखि अवरुद्ध गमगढी–नाक्च्या सडक सञ्चालनमा

बुधबार, २० साउन २०८३

काठमाडौं— छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी–नाक्च्या सडक खण्डअन्तर्गत अल्का साँगु मोटरेबल पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

छायाँनाथ रारा नगरपालिका–१ स्थित उक्त सडक खण्ड मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण गरेको ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल सञ्चालनका लागि आवश्यक पहुँच मार्गमा पर्ने जग्गाको मुआब्जा सम्बन्धी विवाद समाधान हुन नसक्दा स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा भएको पहलपछि जग्गाधनी धनबहादुर मल्ल र छायाँनाथ रारा नगरपालिकाबीच मुआब्जा सम्बन्धी सहमति भएको छ । सहमतिसँगै सडकमा लगाइएको अवरोध हटाइएको हो ।

नगरपालिकाका अनुसार सहमति पश्चात् २०८३ साल साउन २० गतेदेखि उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन पुनः सुरु गरिएको छ । सडक सञ्चालनमा आएपछि गमगढी–नाक्च्या क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

लामो समयदेखि पुल निर्माण सम्पन्न भए पनि पहुँच मार्गको जग्गा मुआब्जा विवादका कारण सडक उपयोगमा आउन सकेको थिएन । अब विवाद समाधान भएसँगै पुल तथा सडक दुवै पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।