युनिक्याम्पसको कारोबार शून्य, तीन शाखाको सञ्चित घाटा करिब ३५ लाख

मंगलबार, १९ साउन २०८३

काठमाडौं – वैदेशिक अध्ययनका लागि गुणस्तरिय शैक्षिक परामर्श सेवा दिदै आएको युनिक्याम्पस एजुकेशन नेटवर्कको फाइनान्सियल स्टेटसले झस्काएको छ । मोटिभेट न्यूजलाई प्राप्त बुटवल, चितवन र पोखरास्थित तीन छुट्टाछुट्टै कम्पनीका रुपमा संचालित युनिक्याम्पसका शाखाहरुको लेखापरीक्षण प्रतिवेदनले शैक्षिक परामर्श संस्थाको आर्थिक अवस्था पनि यस्तो हुन्छ र ? भन्ने प्रश्न उठाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तीनवटै कम्पनीले वर्षभरि बिक्री वा सेवा आम्दानी देखाएका छैनन् । आम्दानी शून्य हुँदा कम्पनी टाँट पल्टिएको विवरणहरुबाट देखिन्छ । तीनवटै कम्पनीको आम्दानी शून्य हुँदा मूल्यह्रास र न्यून प्रशासनिक खर्च नै नोक्सानीको मुख्य कारण बनेको छ ।

युनिक्याम्पस एजुकेशन नेटवर्क बुटवल प्रालि, युनिक्याम्पस एजुकेशन नेटवर्क चितवन प्रालि र युनिक्याम्पस एजुकेशन नेटवर्क पोखरा प्रालिको असार ३२, २०८२ अर्थात् १६ जुलाई २०२५ सम्मको वित्तीय विवरण जोड्दा एक वर्षको कुल नोक्सानी १ लाख ६१ हजार ८३१ रुपैयाँ ६१ पैसा पुगेको छ। अघिल्लो वर्ष यी तीन कम्पनीको कुल नोक्सानी २ लाख १५ हजार ५५२ रुपैयाँ ६९ पैसा थियो। यस हिसाबले वार्षिक घाटा ५३ हजार ७२१ रुपैयाँ ८ पैसा अर्थात् २४.९२ प्रतिशत घटेको देखिएको छ । कम्पनीहरुको यो सुधार आम्दानी बढेर आएको होइन, खर्च घटाएर हो । तीनै कम्पनीको आम्दानी यस वर्ष पनि शून्य छ।

तीनै कम्पनीको सञ्चित नोक्सानी भने ३४ लाख ९७ हजार १८८ रुपैयाँ ५६ पैसा पुगेको छ । उनीहरूको कुल चुक्ता पुँजी १६ लाख रुपैयाँ मात्रै छ। अलग–अलग कानुनी संस्था भएकाले यो एकीकृत वित्तीय विवरण होइन, तर तीन प्रतिवेदनका अंकलाई साधारण रूपमा जोड्दा पुँजी र सञ्चित घाटाबीच १८ लाख ९७ हजार १८८ रुपैयाँ ५६ पैसाको ऋणात्मक अन्तर देखिन्छ। यसले विशेष गरी बुटवल र पोखरा कम्पनीको नेटवर्थमाथि गम्भीर दबाब परेको देखाउँछ।

कम्पनीहरुको दर्ता कागजातमा विज्ञान श्रेष्ठ एकल संस्थापक तथा शेयर लिन कबुल गर्ने व्यक्ति रहेको देखिएको छ । वैदेशिक अध्ययनका लागि परामर्श, शैक्षिक संस्था छनोट र आवेदन प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यसँग जोडिएका यी कम्पनीले वर्षभरि बिक्री वा सेवा आम्दानी देखाएका छैनन्।

मोटिभेट न्यूजलाई प्राप्त प्रबन्धपत्र तथा नियमावलीमा २०७५ साल जेठ २१ गतेको मितिमा तीनवटै संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् । तीनै कम्पनीमा संस्थापक हुन् विज्ञान श्रेष्ठ । विज्ञान श्रेष्ठको व्यावसायिक संलग्नता युनिक्याम्पसमा मात्र सीमित देखिँदैन। सफ्टवारिका कलेज, सनवे कलेज, डिजी स्कुल, युके कलेज, च्वाइस मेकर एजुकेशन कन्सल्टेन्सी, डिजी मेडिकल र मिनी अस्ट्रेलिया नामका कम्पनीहरु चलाइरहेका छन् ।

 

बुटवल : २५ लाख सञ्चित घाटा, नेटवर्थ झण्डै २० लाख ऋणात्मक

तीनमध्ये सबैभन्दा कमजोर अवस्था बुटवल कम्पनीको देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ लाख ४८७ रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्षको नोक्सानी १ लाख ३४ हजार ३१६ रुपैयाँ थियो। वार्षिक नोक्सानी २५.१९ प्रतिशत घटे पनि चालु वर्षमा बिक्री, सेवा आम्दानी र कुल नाफा सबै शून्य छन्। ३ हजार ५०० रुपैयाँ लेखापरीक्षण शुल्क र ९६ हजार ९८७ रुपैयाँ मूल्यह्रासले नै वर्षको सम्पूर्ण घाटा बनेको छ।

बुटवलको पुरानो सञ्चित नोक्सानी २४ लाख ४९ हजार ८८३ रुपैयाँ १ पैसा थियो। चालु वर्षको घाटा थपिएपछि सञ्चित नोक्सानी २५ लाख ५० हजार ३७० रुपैयाँ १ पैसा पुगेको छ। कम्पनीको चुक्ता पुँजी ६ लाख रुपैयाँ मात्र भएकाले गणनाअनुसार नेटवर्थ १९ लाख ५० हजार ३७० रुपैयाँ १ पैसाले ऋणात्मक छ। सञ्चित नोक्सानी चुक्ता पुँजीको ४.२५ गुणाभन्दा बढी छ।

कम्पनीको कुल सम्पत्ति अघिल्लो वर्षको ४ लाख २१ हजार ३९६ रुपैयाँ ९९ पैसाबाट २८.०७ प्रतिशत घटेर ३ लाख ३ हजार १२९ रुपैयाँ ९९ पैसामा झरेको छ। त्यसमध्ये २ लाख ९० हजार ९६० रुपैयाँ ९९ पैसा स्थिर सम्पत्ति र १२ हजार १६९ रुपैयाँ नगद तथा बैंक मौज्दात हो। अर्कोतर्फ चालु दायित्व २२ लाख ५३ हजार ५०० रुपैयाँ छ, जसमा २२ लाख ५० हजार रुपैयाँ ‘अन्य भुक्तानीयोग्य रकम’ का रूपमा राखिएको छ।

बुटवलको सञ्चालन नगद प्रवाह २१ हजार २८० रुपैयाँ ऋणात्मक छ। नगद तथा बैंक मौज्दात ३३ हजार ४४९ रुपैयाँबाट घटेर १२ हजार १६९ रुपैयाँमा सीमित भएको छ। यो ६३।६२ प्रतिशतको गिरावट हो। प्रतिवेदनमा मौज्दात सामान, अग्रिम, धरौटी तथा उठाउन बाँकी रकम शून्य देखाइएको छ।

चितवन : घाटा कायम, तर तरलता तुलनात्मक रूपमा सहज

चितवन कम्पनीले २७ हजार १२७ रुपैयाँ ६८ पैसा नोक्सानी देखाएको छ। अघिल्लो वर्ष ३५ हजार २८० रुपैयाँ ७९ पैसा घाटा भएकामा यसपटक २३.११ प्रतिशतले कमी आएको छ। यहाँ पनि कुनै बिक्री वा सेवा आम्दानी छैन। ३ हजार ५०० रुपैयाँ प्रशासनिक खर्च र २३ हजार ६२७ रुपैयाँ ६८ पैसा मूल्यह्रासले वर्षको घाटा बनेको छ।

चितवनको सञ्चित नोक्सानी ३ लाख ५१ हजार ९७६ रुपैयाँ ३४ पैसा पुगेको छ। चुक्ता पुँजी ५ लाख रुपैयाँ भएकाले कम्पनीको नेटवर्थ अझै १ लाख ४८ हजार २३ रुपैयाँ ६६ पैसा सकारात्मक छ। कुल सम्पत्ति १ लाख ८१ हजार ५२३ रुपैयाँ ६६ पैसा छ, जुन अघिल्लो वर्षभन्दा १०.८५ प्रतिशत कम हो।

चितवनसँग ८९ हजार ८५३ रुपैयाँ १० पैसा चालु सम्पत्ति छ। त्यसमा ७५ हजार रुपैयाँ धरौटी, ४ हजार २४७ रुपैयाँ भ्याटसम्बन्धी रकम र १० हजार ६०६ रुपैयाँ १० पैसा नगद तथा बैंक मौज्दात छन्। चालु दायित्व ३३ हजार ५०० रुपैयाँ मात्र भएकाले तीन कम्पनीमध्ये यसको अल्पकालीन तरलता तुलनात्मक रूपमा सहज देखिन्छ। सञ्चालनबाट १ हजार ५३० रुपैयाँ सकारात्मक नगद आएको र बैंक तथा नगद मौज्दात १६।८६ प्रतिशत बढेको छ।

पोखरा : सञ्चित घाटाले चुक्ता पुँजी नाघ्यो

पोखरा कम्पनीले चालु वर्ष ३४ हजार २१६ रुपैयाँ ९३ पैसा घाटा व्यहोरेको छ। अघिल्लो वर्षको घाटा ४५ हजार ९५५ रुपैयाँ ९० पैसा थियो। वार्षिक घाटा २५.५४ प्रतिशत घटे पनि आम्दानी शून्य छ। ३ हजार ५०० रुपैयाँ प्रशासनिक खर्च र ३० हजार ७१६ रुपैयाँ ९३ पैसा मूल्यह्रास नै घाटाका आधार हुन्।

पोखराको सञ्चित नोक्सानी ५ लाख ९४ हजार ८४२ रुपैयाँ २१ पैसा पुगेको छ, जबकि चुक्ता पुँजी ५ लाख रुपैयाँ मात्रै छ। यसरी सञ्चित घाटाले चुक्ता पुँजी नाघ्दा नेटवर्थ ९४ हजार ८४२ रुपैयाँ २१ पैसाले ऋणात्मक भएको छ।

कुल सम्पत्ति अघिल्लो वर्षको १ लाख ३४ हजार ३७४ रुपैयाँ ७२ पैसाबाट २६.५८ प्रतिशत घटेर ९८ हजार ६५७ रुपैयाँ ७९ पैसामा झरेको छ। कम्पनीसँग ६ हजार ५०७ रुपैयाँ १ पैसा नगद तथा बैंक मौज्दात छ, तर चालु दायित्व १ लाख ९३ हजार ५०० रुपैयाँ छ। त्यसमा १ लाख ९० हजार रुपैयाँ ‘अन्य भुक्तानीयोग्य रकम’ हो। सञ्चालनबाट ५ हजार रुपैयाँ नगद बाहिरिएको छ र नगद मौज्दात ४३.४५ प्रतिशत घटेको छ।

काम शैक्षिक परामर्शको, खातामा आम्दानी र कर्मचारी खर्च शून्य

प्राप्त कागजातमध्ये पोखरा, चितवन र बुटवलका कम्पनीको प्रबन्धपत्रले उद्देश्य एउटै छ । त्यसमा सम्बन्धीत निकायबाट स्वीकृति लिएर विदेशका विश्वविद्यालय, क्याम्पस र विद्यालयमा पढ्न चाहने नेपालीलाई परामर्श, भाषा शिक्षण र पूर्वतयारी कक्षा दिने, छात्रवृत्ति वा निजी खर्चमा अध्ययन गर्न जाने विद्यार्थीको सिफारिस गर्ने, भिसा तयारी र अंग्रेजी, जापानी, फ्रेन्च, जर्मन, इटालियन, चिनियाँ, कोरियन, स्पेनीलगायत भाषा सिकाउने उल्लेख छ। TOEFL, IELTS, PTE, GRE, GMAT र SAT तयारी, स्वदेशी शिक्षण संस्थाका विद्यार्थीलाई ट्युसन, कम्प्युटर हार्डवेयर–सफ्टवेयर विकास तथा तालिम र शैक्षिक मेला–सेमिनार आयोजना गर्ने उद्देश्य पनि राखिएको छ।

तर वित्तीय विवरणमा परामर्श शुल्क, आवेदन शुल्क, भाषा वा परीक्षा तयारी शुल्कसहित कुनै पनि सञ्चालन आम्दानी छैन। त्यस्तै तलब, घरभाडा, विज्ञापन, कार्यालय सञ्चालन, यात्रा वा अन्य नियमित व्यावसायिक खर्च पनि देखिँदैन। तीनवटै कम्पनीमा प्रशासनिक खर्च भनेर जनही ३ हजार ५०० रुपैयाँ लेखापरीक्षण शुल्क मात्र देखाइएको छ। यसले ती कम्पनी आर्थिक वर्षभरि निष्क्रिय वा अत्यन्त न्यून गतिविधिमा रहेको संकेत गर्न सक्छ । अर्को सम्भावना शाखासम्बन्धी कारोबार कुनै अर्को संस्थाको खातामा अभिलेख भएको हुन सक्छ । तर उपलब्ध लेखापरीक्षण प्रतिवेदनले शून्य कारोबारको कारण, कर्मचारी तथा कार्यालय खर्च कहाँ लेखांकन भयो वा शाखाबाट सेवा प्रवाह भएको भए त्यसको आम्दानी कुन कम्पनीमा देखाइयो भन्ने खुलेको छैन ।

केन्द्रबाटै कारोबार

माथिका लेखापरीक्षण प्रतिवेदन हेर्दा कम्पनीले काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट सम्पूर्ण कारोबार गरेको हुनसक्ने देखिन्छ । शैक्षिक परामर्श शुल्क, पूर्वतयारी तथा भाषा शिक्षण शुल्क सम्बन्धीत कम्पनीले लिएको हुनपर्नेमा यो कम्पनीले उक्त रकम नदेखाएको, काठमाडौंस्थित कम्पनीको खातामा जम्मा गरेको, सेवाग्राहिलाई निशुल्क सेवा दिएका वा कम्पनी संचालनमा नरहेकोसमेत हुनसक्छ अनुमान लगाउन सकिन्छ ।

तर मोटिभेट न्यूजले गरेको अनुसन्धानबाट तीववटै कम्पनीहरु संचालनमा रहेका छन् । यी कम्पनीहरुले शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृति पाएका छैनन् । काठमाडौंमा रहेको युनिक्याम्पस एजुकेशन नेटवर्कले शैक्षिक परामर्श सेवा संचालन गर्नका लागि मात्र शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको छ । मन्त्रालयबाट स्वीकृति लिदा यो कम्पनीले शाखाको स्वीकृति पाएको छैन । यसको मतलव काठमाडौंमा केन्द्रीय कार्यालय रहेको युनिक्याम्पसले पनि गैरकानुनी रुपमा आएल्स, पीडिई लगायतका पूर्वतयारी कक्षाहरु संचालन गरिरहेका छ भने उपत्यका बाहिर रहेका शाखाहरु गैरकानुनी रुपमा संचालन भएको पुष्टि हुन्छ ।

कम्पनीका बुटवल, चितवन, पोखरा तीन ठाउँमै भिआईपी कार्यालयहरु संचालनमा छन् । ति कार्यालयहरुमा एउटा काउन्सलरसहित कम्तिमा ३ जना कर्मचारीहरु कार्यारत छन् । कायालयको भाडा, कर्मचारीको तलव, बत्ति, पानी, विजुली, फाहोर लगायत खर्च र आम्दानी नदेखाएर यो कम्पनीले बदमासीमात्रै गरेको छैन् सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई झुक्याएको छ ।

यो कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहेको छ । युनिक्याम्पस ग्लोबल नामले संचालन रहेको यो कम्पनीमा पनि विज्ञान श्रेष्ठकै सतप्रतिशत लगानी रहेको छ । यो कम्पनीले आफ्नो ३ वटामात्रै शाखा रहेको जनाएको छ । कम्पनीले पुतलीसडकमा केन्द्रीय कार्यालय, बंगलादेश र अस्ट्रेलियामा शाखा कार्यालयहरु रहेको उल्लेख गरेको छ । बुटवल, चितवन, पोखराका कार्यालयलाई यो कम्पनीले शाखाका रुपमा स्वीकार गरेको छैन । तर कम्पनीको आम्दानी र दायित्व काठमाडौंबाटै व्यहोरिरहेको छ ।

तीन कम्पनी किन घाटामा गए, कहाँ गयो आएल्स, पीटिई लगायत पूर्वतयारी तथा भाषा शिक्षण शुल्क, कमिसनको चक्कर के हो ? यस विषयमा राज्यले गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ । लेखा विश्लेषकहरुले जानाजान यी कम्पनीहरुको नाफा लुकाएको आशंका गरेका छन् । उनीहरुको विश्लेषणमा बुटवल, चितवन, पोखराबाट भिसा एप्लाई गरेर भिसा लागेका विद्यार्थीहरुको कमिसन काठमाडौं वा अस्ट्रेलियाको खातामा जम्मा भएको र त्यहीँबाट कारोबार गर्दा शाखा कार्यालयको आम्दानी नदेखिएको हुनसक्ने उनीहरुको आशंका छ ।

तर युनिक्याम्पसले मन्त्रालयले स्वीकृति नदिएकाले तीन वटै कम्पनीमा कारोबार नगरेको जनाएको छ । युनिक्याम्पसका संचालक विज्ञान श्रेष्ठले शिक्षा तथा खेलकुद मन्त्रालयले सेवा संचालनका लागि स्वीकृति नदिएपछि बुटवल, चितवन र पोखराका कम्पनीहरुमार्फत कारोबार नगरेको बताएका छन् । सेवा संचालनको आवेदन दिएर केही वर्ष राजस्वसमेत तिरेको बताउँदै उनले सरकारले स्वीकृति नै नदिएपछि कारोबार राेकेकाे दावि गरे । ‘शिक्षा मन्त्रालयको स्वीकृति विना सेवा संचालन गर्न मिल्दैन । त्यही भएर हामीले ति कम्पनीहरुको हरेक वर्ष नविकरण मात्र गरिरहेका छौं ।’, मोटिभेट न्यूजसँगको कुराकानीमा श्रेष्ठले भने । आफूले स्थानीय फरक कम्पनीलाई युनिक्याम्पसको लोगो प्रयोग गर्न मात्र दिएको उनको भनाई छ ।

ह्वात्तै बढ्यो युनिक्याम्पसबाट अस्ट्रेलिया एप्लाई गर्ने विद्यार्थीको भिसा रेट