देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक
काठमाडौं -नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । उनले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ । आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उनले भने ।
लेखकले कांग्रेसलाई एकताबद्ध गर्न आफूहरूबाट विभिन्न प्रयास भएको भए पनि त्यसले परिणाम दिन नसकेको बताए । पार्टी एकताका लागि आफू व्यक्तिगत रूपमा पनि विभिन्न घटनामा जोडिएको र त्यसलाई नजिकबाट देखेको उनको भनाइ थियो ।
‘हामीले कांग्रेसलाई एकताबद्ध गर्नका निम्ति निकै प्रयत्न र कोसिस गरेका छौँ । हामीले पार्टीलाई एकताबद्ध गर्न सकेका छैनौँ । अझै पनि प्रयत्न र प्रयास गर्नुपर्छ र पार्टीलाई एकताबद्ध गर्नुपर्छ,’ उनले भने ।
यसैगरी कांग्रेस नेता दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियारका रूपमा प्रयोग गरेर’ कांग्रेस लुटिएको आरोप लगाए । उनले त्यसलाई अपराधको संज्ञा दिँदै क्षम्य नहुने बताए ।
‘निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन। सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ। हामीले न्याय पाउने विश्वास गरेका छौँ,’ खड्काले भने ।
कांग्रेस नेता कान्छाराम तामाङले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवाको सभापतिको हैसियतमा बोर्ड कसैलाई नसोधी आफूले राखेको बताए । उनले शशाङ्कले देउवालाई फिल्म हेराएको प्रसङ्ग निकाल्दै गगनलाई पनि एकपटक हेराइदिन आग्रह गरे ।
‘शेरबहादुर दाइ चुनदेवीमा जानुभयो । त्यहाँ सभापतिको बोर्ड पनि मैंले कुनै पनि नेताजीहरूलाई नसोधीकन राखिदिएको छु । अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि एकचोटी गगनकुमार थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्,’ उनले भने ।