श्रीकृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा रथयात्रा हुँदै
विराटनगर – श्रीकृष्ण जन्मोत्सवको अवसरमा विराटनगरमा रथयात्रा हुने भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको श्री राधा कृष्ण मन्दिर मानगढका पीठाधीश परम पूज्य श्री आचार्य रुद्र शरण जी महाराजको परम सान्निध्यमा भाद्र २० गते विराटनगरमा रथयात्रा हुने भएको हो ।
रथयात्रा मूल समारोह समितिका अनुसार भाद्र १२ गतेदेखि २० गतेसम्म श्रीकृष्ण जन्मोत्सवको पावन अवसरमा झुलन उत्सव, श्री कृष्ण जन्मोत्सव तथा भव्य रथयात्रा महोत्सव धूमधामका साथ मनाइने भएको छ । नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक उत्सवको रूपमा रहेको रथयात्रामा सहभागी हुन समितिले अनुरोध गरेको छ ।
भाद्र १२ गते विहान ४ बजेदेखि ७ बजेसम्म ऋषितर्पणी (जनैमन्त्रने) तत्पश्चात् रक्षाबन्धन जनैलगाउने, भाद्र १३ देखि १८ गतेसम्म साँझ ६ बजेदेखि ९ः३० वजेसम्म विभिन्न कलाकारहरुद्वारा भजन कीर्तनसहित झुलन महोत्सव मनाउने, १८ गते दिउसो ४ः३० बजेबाट रथयात्रा मार्गमा भव्य मोटरसाईकल र्याली निकाल्न कार्यक्रम रहेको छ ।
साथै, १९ गते विहान ७ देखि ९ बजेसम्म विभिन्न मण्डप पूजन ध्वजारोहण झण्डा पुजन गर्ने, ९ देखि ११ सम्म औपचारिक कार्यक्रम तत्पश्चात रात्री ११ः०० वजे सम्म अखण्ड हरिनामसंकीर्तन हुने, रात्री ११ वजे देखि १२ बजे सम्म श्रीकृष्ण जन्मोत्सव महाअभिषेक र भाद्र २० गते बिहान देव पूजन, रथ पूजन तत्पश्चात् ७ वजे देखि रथयात्रा सुरु हुने बताइएको छ ।
रथयात्रा पश्चात मध्यान्न १२ बजेदेखि विशाल भण्डारा लाग्ने र प्रसाद वितरण गरिने रथयात्रा मुल समाचार समितिका महासचिव केशव प्रसाद आचार्यले बताएका छन् ।

