अमृृता हत्या काण्डको रहस्य खुल्यो, दाइजो मुख्य कारण ?

बुधबार, २२ साउन २०७६

काठमाडौं –‘न भगवानको साथ छ, न आफ्नैको । साथ छ त सिर्फ आत्मविश्वासको । म एक्लै लड्न सक्छु । म निरन्तर लड्छु । म तेरो हत्या गर्ने मान्छेको बाप हुँ ।’

‘तिमीहरुलाई २५ वर्षसम्म जेल हाल्छु, विश्वास छैन ? तपाईंहरुले आफ्नो फेसबुक डिएक्टिभ किन गर्नु भो ? लाज लागेको होला नि । कि हामीलाई कसैले खोजी नगरोस् भनेर । अरुको छोरीलाई विष खुवाएर हात खुट्टा बाँधेर मार्न सरम छैन ?’

‘यो योजनाबद्ध हत्याकाण्ड हो । यसमा सासु, ससुरा, दिदी र श्रीमानसहित अन्य संलग्न छन् ।’

बझाङका नरबहादुर बोहरा सामाजिक सञ्जाल फेसबुकमा दैनिक यस्तै आक्रोश पोख्छन् । फेसबुकबाट मात्र कुरा नसुनिएपछि ट्वीटरमा पनि लेख्न थालेका छन् ।

उनका गुनासा सामाजिक सञ्जालमात्र सीमिति छैनन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का निर्देशक निरजबहादुर शाहीदेखि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्मलाई पत्र लेखेर न्याय मागेका छन् । उनले खोजेको न्याय कहिले र कहाँबाट प्राप्त हुन्छ, उनी आफैंलाई थाहा छैन ।

उनी बहिनी अमृताको ‘हत्या’मा संलग्नलाई कारबाही होस् भन्ने चाहन्छन् । नरबहादुर भन्छन्, ‘न्यायका लागि टुँडिखेलमा अनसन बस्न पनि तयार छु ।’

के हो घटना ?

असार १९ गते राति अमृता बोहाराले फेसबुकमा स्टाटस लेखिन्, ‘डिभोर्सड’ ।

यो स्टाटस पढ्नासाथ चापागाउँमा रहेकी कान्छी बहिनी निधीले दिदी अमृतालाई फोन गरिन् तर, उठेन । भिनाजु राजन वैदेशिक रोजगारीका लागि कतारमा भएका बेला दिदीको सम्बन्ध विच्छेदसम्बन्धी सूचना देखेपछि निधीलाई आश्चर्य लागेको थियो । त्यसैले उनले बारम्बार फोन गरिन् तर हरेक पटक फोन काटियो ।

त्यो रात दिदीबहिनीको कुरा हुन पाएन । भोलिपल्ट निधीले फोन गर्न नपाउँदै बिहान ८ बजे एकाएक अप्रिय खबर आइपुग्यो । अमृताले झुण्डिएर आत्महत्या गरेको विवरणसहित घटनास्थलमा आउन आग्रह गरिएको थियो ।

दाजु नरबहादुरका अनुसार बिहान अमृताको घर बुढानीलकण्ठ पुग्दा शव गन्हाउन थालिसकेको थियो । ‘मैले चिकित्सकहरुसँग पनि सोधेको थिएँ, २४ घन्टाअघि शव गल्दैन भन्नुभएको थियो’, उनले सुनाए, ‘तर बहिनीको शव कसरी त्यति छिट्टै गन्हायो ?’

मृतक अमृताको साथमा दाजु नरबहादुर र आमा ।
घरको झ्यालमा सलको पासो लाग्नुले पनि आशंका उब्जायो । ‘खुट्टाले खाटमा पनि छोइरहेको देखिन्छ’, बहिनीले आत्महत्या गरेकोमा शंका गर्दै उनी भन्छन् ।

प्रहरीले अमृताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठायो । माइती पक्षले अमृताले आत्महत्या गरेको नभई हत्या भएको दाबीसहित किटानी जाहेरी दिए ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईं घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँछन् । ‘माइती पक्षले कर्तव्य गरी मारेको कसूरमा किटानी जाहेरी दिनुभएको छ’, प्रसाईंले भने, ‘त्यही आधारमा श्रीमान् राजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

माइती पक्षले अमृताका श्रीमान राजन, ससुरा खड्ग, सासु पवित्रा र आमाजु गोमाविरुद्ध किटानी जाहेरी दिएका छन् । तर, उनीहरु पक्राउ परेका छैनन् ।

विवादित पृष्ठभूमि

अमृताको माइती पक्षले किन हत्या भएको दाबी गरिरहेको छ, यो जान्न राजन र अमृताबीच सम्बन्ध सुरुवात भएको दिनतिर फर्किनुपर्छ ।

पारिवारिक स्रोतका अनुसार अमृताले उच्च शिक्षा लिने इच्छा देखाएपछि ललितपुरको चापागाउँमा रहेको जनभावना क्याम्पसमा भर्ना गरिएको थियो । स्नातक दोस्रो वर्ष अध्ययन गर्दै गर्दा फेसबुकमार्फत उनको राजनसँग चिनजान भएको थियो । कुराकानी बाक्लिँदै जाँदा दुई प्रेममा परे । विदेशमा रहेका राजन ०७३ सालमा नेपाल आए, नरबहादुरलाई भेटेर अमृताको हात मागे ।

‘त्यसबेला म बझाङमै थिएँ । दाइ हजुरको बहिनीलाई मन पराउँछु । बिहे गर्छु भन्यो’, नरबहादुर भन्छन्, ‘हामीले बहिनी पढिरहेकी छे । केही जागिर गर्छे अनि मात्रै विहेको कुरा गरौंला भनेको थिएँ ।’ तर, राजनले मरिहत्ते गरिरहे ।

भोलिपल्टै अमृतालाई लिएर बुढालिकण्ठस्थित आफ्नो घरमा आइसकेको भन्दै फोन गरे ।

नरबहादुरले बहिनीसँग पनि कुरा गरे । ‘मलाई त राम्रैसँग बिहे गर्ने मन थियो तर उसले लिएर आयो’, अमृताको भनाइ सम्झँदै दाजु भन्छन्, ‘उनले आफू खुशी रहेको बताइन् ।’

बहिनी नै खुशी छे भनेपछि नरबहादुरले पनि बिहेमा सहमति जनाए । तर उनले ‘हामी गरिब परिवारको मान्छे हौं । पढाउने भनेर मात्र त्यहाँ पठाएका थियौं । भोलि गाह्रो नहोस्’ भन्दै राजनलाई सम्झाए । उनले पनि राम्रोसँग पाल्छु भनेका थिए ।

तर, विवाहको केही समयपछि नै ज्वाइँको व्यवहार फेरिएको नरबहादुर बताउँछन् ।

उनकाअनुसार एक दिन फेसबुकमा राजनले, ‘दाइ हजुरको कतै पैसा लगाउनुभएको छ ?’ भन्दै सोधेका थिए । यस्तो प्रश्नले उनी अचम्मित भए । छैन भनिदिए । तर, बहिनी ज्वाइँले किन यस्तो प्रश्न गरे भन्ने भेउसम्म पनि पाउन सकेनन् ।

जब आमाले गाउँको जग्गा बेचेर केही रकम जम्मा पारिन्, तब ज्वाइँको दुई वर्षअघि सोधेको प्रश्नको जवाफ पाएको उनी बताउँछन् । ‘जग्गा बेचेको थाहा पाएपछि उनले दाइजो वापत १० लाख रुपैयाँ माग्न थालेका थिए’, उनी भन्छन् ।

उनकाअनुसार आमाले सबै पैसा ब्याजमा लगाइसकेकाले सरसापट गरेर ५० हजार वैशाखमा आईएमईमार्फत पठाए । त्यसपछि बोहरा परिवारमा ज्वाइँबारे छलफल पनि भयो ।

त्यसक्रममा बिहेको ७र८ महिनापछि पेटमा भएको बच्चा पनि जबरजस्ती फ्याल्न लगाइएको खुल्यो । ‘आमाबुबाले अहिल्यै किन बच्चा चाहियो भनेर जबरजस्ती औषधि खुवाएका रहेछन्’, नरबहादुरले भावकु हुँदै भने, ‘बच्चा तुहिएपछि टेन्सन भएर बहिनीले रुँदै मेरी श्रीमतीलाई भनेकी रैछिन् ।’

घटनाको दुई अघि पनि अमृताले बिहिनी निधीलाई फोन गरेर लामो समय रुँदै कुरा गरेकी थिइन् ।

न्याय माग्न जाँदा हत्कडी ?

अमृताकी आमा देवकला गाउँमै खेती किसानी गर्थिन् । छोरीको मृत्युबारे खबर सुनेर काठमाडौं आएकी थिइन् ।

छोरीज्वाइँको परिवारविरुद्ध छोरासहित गएर उजुरी दिइन् । प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आशंका लागेको भन्दै गुनासो गर्न गएका थिए ।

तर, गुनासो सुन्नुको साटो ५२ वर्षीया आमा देवकली र आफूलाई हत्कडी लगाइदिएको नरबहादुर बताउँछन् । ‘हामीले तुरुन्त अनुसन्धान थाल्नुस् । अपराधीले सबुत मेटाउन सक्छन् भनेका थियौं’, उनले भने, ‘तर, ममी र मलाई हत्कडी लगाएर भित्र हाल्दियो ।’

उनकाअनुसार दुबैलाई महाराजगञ्ज प्रहरीले करिब एक घन्टा हिरासतमा राखेर छाडेको थियो ।

मृत्युको कारण ? विष कि झुण्डिएर ?

नरबहादुरका अनुसार, पोष्टमार्टममा संलग्न शिक्षण अस्पतालका चिकित्सकहरुले प्रारम्भिक कुराकानीमा अमतृाले विष खाएको भनिएको थियो । ‘दुवै खट्टाको घुँडामुनि र हातमा पनि डाम देखिएको चिकित्सकले बताएका थिए’, उनले थपे, ‘तर कज अफ डेथमा ह्याङ्गिङ मात्र भनिएको रहेछ ।’

एक फरेन्सिक विज्ञका अनुसार हत्या वा आत्महत्या भन्ने विषय पोष्टमार्टम रिपोर्टले मात्र निर्क्यौल गर्न सक्दैन । त्यसैले प्रहरीले प्राविधिक पक्षको अनुसन्धानमा ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।

तर, चिकित्सकले प्रारम्भमा के आधारमा विष खाएको भनेर परिवारका सदस्यलाई भने, भन्नेमा अनुसन्धान अधिकृत आफैं पनि अलमलमा छन् । डीएसपी प्रसाईं भने पोष्टमार्टम रिपोर्टमा घाउ वा अन्य चोटपटक नदेखिएको बताउँछन् ।

आफन्त भने यो मान्न तयार छैनन् । परिवारका सबै सदस्यलाई पक्राउ गरेर कारबाही प्रक्रिया नथालेसम्म उनीहरुले शव नउठाउने अडान लिएका छन् । ‘हामीले न्याय नपाउञ्जेल शव उठाउँदैनौं’, अमृताका दाजु नरबहादुर भन्छन् ।

प्रहरीले प्रारम्भदेखि नै अनुसन्धानमा लापरबाही गरेको उनको आरोप छ । समयमा नियन्त्रणमा नलिँदा अभियुक्त पनि भाग्न सफल भएको नरबहादुर दाबी गर्छन् । अनलाईन अवरमा गौरव पोरेलले यो खवर लेखेबा छन ।