ब्रिज इन्टरनेशनलको एआई प्रविधिमा आधारित नयाँ प्लेटफर्म ‘Applyes’ सार्वजनिक हुँदै

शुक्रबार, ११ मंसिर २०८३

काठमाडौं, मंसिर १४ – वैदेशिक शिक्षा परामर्श तथा अन्तर्राष्ट्रिय शैक्षिक सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एण्ड माइग्रेसन प्रा.लि.ले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) मा आधारित नयाँ डिजिटल प्लेटफर्म ‘Applyes’ औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ। ब्रिजले नयाँ डिजिटल प्लेटफर्म Applyes को आगामी मंसिर १४ गते (३० नोभेम्बर २०२६), सोमबारका दिन काठमाडौंस्थित एभरेस्ट होटलमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो।

‘Applyes’ ब्रिज इन्टरनेशनलको आफ्नै उत्पादन हो, जसलाई अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउने उद्देश्यका साथ विकास गरिएको हो। यस प्लेटफर्मले शैक्षिक परामर्श व्यवसाय, विद्यार्थी तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूबीचको प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, डिजिटल प्रविधिको विकास र कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै Applyes को अवधारणा अघि सारिएको कम्पनीले जनाएको छ। यसले विशेषगरी शैक्षिक परामर्श संस्थाहरूलाई आफ्नो कार्यप्रक्रिया आधुनिक बनाउन, सूचना तथा विवरण व्यवस्थापनलाई व्यवस्थित गर्न र समग्र शैक्षिक परामर्श सेवालाई प्रविधिसँग जोड्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

सन् २०१५ मा स्थापना भएको ब्रिज इन्टरनेशनलले स्थापनाकालदेखि नै नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको अवसरसँग जोड्दै आएको छ। नेपालका विभिन्न स्थानमा २१ वटा शाखा कार्यालय तथा बेलायत, अस्ट्रेलिया र क्यानडामा समेत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गरेको कम्पनीमा १७२ भन्दा बढी कर्मचारी कार्यरत छन्।

‘विदेशी शिक्षा प्राप्त गर्ने नेपाली विद्यार्थीहरूको यात्रालाई सहज बनाउने हाम्रो निरन्तर प्रयासमा Applyes एउटा महत्वपूर्ण उपलब्धि हो। हामीले लामो समयदेखि देखेको सपना र प्रविधिमार्फत शिक्षा परामर्श क्षेत्रलाई रूपान्तरण गर्ने हाम्रो सोचको परिणाम Applyes हो,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले बताए। कम्पनीका अनुसार Applyes को विकासले ब्रिज इन्टरनेशनलको सेवा विस्तार मात्र नभई समग्र अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउन सहयोग गर्ने विश्वास लिइएको छ।

Applyes को औपचारिक शुभारम्भ कार्यक्रम आगामी २०८३ मंसिर १४ गते (३० नोभेम्बर २०२६), सोमबार, काठमाडौंस्थित एभरेस्ट होटल, नयाँ बानेश्वरमा आयोजना हुनेछ। कार्यक्रममा शिक्षा परामर्श क्षेत्रका अगुवा, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

ब्रिज इन्टरनेशनलले Applyes मार्फत नेपाली शिक्षा परामर्श क्षेत्रलाई विश्वव्यापी डिजिटल प्रविधिसँग जोड्दै नयाँ सम्भावना र अवसरहरूको ढोका खोल्ने लक्ष्य लिएको छ।