इक्यान कास्कीका अध्यक्ष नै संघको सदस्य नरहेको पुष्टि
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाका अध्यक्ष प्रकाश गैरे संघको साधारण सदस्यसमेत नरहेको पाइएको छ । दुई वर्षअघि शाखा अध्यक्षमा निर्वाचित भएका गैरेको इक्यानमा सदस्यता नै नरहेको खुलेको हो ।
इक्यानको सदस्य बन्न आफूले सञ्चालन गरेको शैक्षिक परामर्श कम्पनीमा शेयरधनी हुनुपर्ने व्यवस्था छ । तर, गैरेको स्वामित्वमा रहेको भनिएको पोखरास्थित थर्ड आई एजुकेसन एन्ड लर्निङ सेन्टर प्रा.लि.को शेयर दर्ता किताबमा उनको नाम देखिँदैन । मोटिभेट न्युजले प्राप्त गरेको कम्पनीको शेयर दर्ता किताबअनुसार उक्त कम्पनीको शतप्रतिशत शेयर उनकी श्रीमती भगवती अधिकारीको नाममा रहेको छ ।
२०८२ असोज ६ गते अद्यावधिक गरिएको कम्पनीको शेयर लगतमा पनि गैरेको नाम समावेश छैन । यद्यपि, मोटिभेट न्युजसँगको टेलिफोन संवादमा गैरेले उक्त कम्पनीको सम्पूर्ण शेयर आफ्नो नाममा रहेको दाबी गरेका थिए । उनले श्रीमतीको नाममा थर्ड आईकै नामबाट काठमाडौंमा अर्को कम्पनी रहेको र पोखरास्थित कम्पनीको सम्पूर्ण स्वामित्व भने आफ्नै नाममा रहेको बताएका थिए ।
२०८१ पुसमा सम्पन्न इक्यान कास्कीको सातौँ अधिवेशनबाट गैरे अध्यक्षमा निर्वाचित भएका थिए । तर, उनी अध्यक्ष हुन आवश्यक सदस्यता नै नरहेको विषय सार्वजनिक भएपछि उनलाई पदबाट बर्खास्त गर्न इक्यान कास्कीका सदस्यहरूले माग गरेका छन् । अध्यक्षको सदस्यतामाथि प्रश्न उठेपछि उनलाई के गर्ने भन्ने विषयमा इक्यान केन्द्रले परामर्श गरिरहेको छ ।
इक्यान कास्कीको आठौँ अधिवेशन आगामी मंसिर १८ गते हुँदै छ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन नजिकिँदै गर्दा अध्यक्षकै सदस्यता विवाद सार्वजनिक भएपछि यसले संघभित्र थप बहस सिर्जना गरेको छ ।
