शिक्षामन्त्री शैक्षिक माफियासँग लम्पसार परेपछि..
काठमाडौं – शिक्षा मन्त्री मेडिकल माफियासँग लम्पसार परेका कारण एमबीबीएसको शुल्क बढेको पाइएको छ । संसदीय उपसमितिले मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसको शुल्क बढाउँदा त्यसलाई रोक्न तत्कालिन शिक्षामन्त्रीले पहल नगरेको निश्कर्ष निकालेपछि तत्कालिन शिक्षामन्त्री लम्पसार परेको खुलेको हो ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले शुक्रबारसंक्षिप्त प्रतिवेदन बुझाउँदै मन्त्रिपरिषद निर्णय पालना गराउन शिक्षा मन्त्रालयले नै चासो नदिएको बताएको छ । उपसमिति संयोजक सुरेशकुमार राईले मन्त्री र सचिवको बेवास्ताले मेडिकल कलेजहरुले तोकेको भन्दा बढी शुल्क लिएको बताए ।
शुल्कवृद्धिको अनुगमन गर्नुको सट्टा सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवहरुले प्रेरित गरेको पाइएको संयोजक राईको भनाइ छ ।
‘मन्त्रिपरिषदले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ र उपत्यकाभित्र ३८ लाख ५० हजार शुल्क रुपैयाँ तोकेको थियो । तर मेडिकल कलेजहरुले त्यो भन्दा बढी शुल्क लिएका संसदीय उपसमितिको ठहर छ ।
काठमाडौं विश्वविद्यालयले त उपत्यकाभित्र ४५ लाख, उपत्यकाबाहिर ४७ लाख रुपैयाँसम्म लिन सक्ने गरी कार्यकारी परिषदले निर्णय गरेर आफू मातहतका मेडिकल कलेजलाई पत्राचारसमेत गरेको थियो ।
तर उक्त पत्राचारप्रति पनि तत्कालिन शिक्षामन्त्री मौन बसेको उपसमितिले उल्लेख गरेको छ । उपसमितिले तत्कालीन शिक्षामन्त्रीको नाम भने उल्लेख गरेको छैन ।