‘एक घर, एक रोजगार’ कार्यक्रम सुरु
सुर्खेत – सुर्खेतको एक नगरपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम सुरु गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई लक्षित गरि उक घर एक रोजगार कार्यक्रम लागु गरेको हो ।
जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो ।
‘कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यअनुरुप यो नीति अवलम्बन गरेका हौँ’, नगरप्रमुख हस्त पुनले भने, ‘एक घरका एक जनालाई कम्तीमा १०० दिनको रोजगारी दिन्छौँ ।’ नगरपालिकाले लिएको नीतिले विदेश जाने युवालाई रोक्ने र गाउँमै सिर्जनात्मक काममा संलग्न हुन सहयोग गर्ने उनले बताए।
नगरपालिकाले युवालाई स्वरोजगार बनाउनका लागि यस्ता खालका व्यावसायिक कार्यक्रम ल्याएको छ । ‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन’ अन्तर्गत युवालाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले भविष्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई अनुभव बैंकका रुपमा लिँदै सोहीअनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।