आत्महत्या दुरुत्साहन गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

सोमबार, ९ भाद्र २०७६

काठमाडौं – आत्महत्या गर्न दुरुत्साहन पारेको भन्दै पुर्पक्षका लागि समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन् ।

गएको असार ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै देहत्याग गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले सुसा इड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले वाध्य पारेको उल्लेख गरिएको थियो । विमला सोही अस्पतालमा काम गर्दै आएकी थिइन् ।

आत्महत्या गर्न दुरुत्साहन पारेको भन्दै तामाङका परिवारले प्रहरीमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले सोही सुसा इड नोटलाई आधार मानेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले आइतबार उनीहरु तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।