नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रममा झ*ण्डै हानाहान, सुरक्षाकर्मीको ठाडो हस्तक्षप

आइतबार, २२ भाद्र २०७६

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षप गरेका छन् । पार्टी उपसभपाति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा हँगामा मच्चिएको थियो ।

प्रदेश ३ का सात वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा शनिबार उपसभापति निधिले हिन्दूराष्ट्रको विरोध गर्दै धर्म निरपेक्षताको पक्षमा धारणा राखेपछि प्रशिक्षण कार्यक्रममा हँगामा मच्चिएको हो ।

प्रशिक्षण कार्यक्रमा निधिले युरोपियन युनियनका पैसा खाएर क्रिश्चियन धर्मको पक्षमा र हिन्दूधर्मको विपक्षमा अभियान चलाएको भन्दै बहुमत महासमिति सदस्यहरूले शनिबार हँगामा मच्चाएका हुन् । अवस्था उत्तेजित भएर सम्हाल्नै नसक्ने अवस्थामा पुगेपछि निधिका लागि सुरक्षामा खटिएका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी मञ्चमै उक्लिएका थिए । कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले शनिबार बोल्ने क्रममा हिन्दूराष्ट्रको विपक्षमा धारणा राखेपछि अधिकांश महासमिति सदस्यहरूले नेपाली कांग्रेस सनातन हिन्दू राज्यको विषयमा जनमत संग्रहमा जानुपर्ने धारणा राखेको एक जना महासमिति सदस्यले जनाएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रदेश सांसद नरोत्तम बैद्य, महासमिति सदस्य कृष्णा अमात्य, ऋषिराम घिमिरे लगायत चार दर्जन बढी महासमिति सदस्यहरूले हिन्दूराज्यको विपक्षमा धारणा राखेको भन्दै उपसभापति निधिको आलोचना गरेका थिए । प्रशिक्षण कार्यक्रममा करीब २० मिनेटसम्म उपसभापति निधिको विपक्षमा हो–हल्ला भएको थियो । उपसभापति निधिको विरुद्ध मञ्चमा होहल्ला भएपछि निधिनका अंगरक्षकहरू स्टेजमा आएका थिए ।

त्यसपछि झन् निधिविरुद्ध प्रशिक्षण कार्यक्रममा हँगामा भएको थियो । विरोध भएपछि उपसभापति निधिले आफ्ना सुरक्षाकर्मीहरूलाई हातले संकेत गरेर मञ्चभन्दा बाहिर जान निर्देशन दिएका थिए । प्रशिक्षण कार्यक्रममा निधिको विरोध गर्नेहरूले क्रिश्चियनको पैसा खाएको आरोप लगाएका थिए । भक्तपुर जिल्लाको ठिमीको बोडेमा शुक्रबार र शनिबार दुई दिन आयोजित प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का सात जिल्लाहरू भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यसैबीच कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेको छ ।

नेपाली कांग्रेसद्वारा आइतबार बिहान जारी विज्ञप्तिअनुसार प्रदेशअन्तर्गतका सबै निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि खटाइएको हो । केही जिल्लामा क्रमशः प्रतिनिधि खटाइनेछ । नेपाली कांग्रेसले भदौ २४ गतेदेखि देशभरि एकै साथ दोस्रो चरणको अभियान चलाउँदै छ । अभियानका क्रममा सरकारका गलत कुराको भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माणमा पनि विशेष जोड दिइनेछ कांग्रेसले जनाएको छ । बाँकी जिल्लाहरूको प्रतिनिधिहरू क्रमशः सार्वजनिक गरिनेछ । नेपाली कांग्रेसले पहिलो चरणको प्रतिनिधिहरूको सूची सार्वजनिक गरेको जनाएको छ ।